१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले वाणिज्य बैंकहरुको नाफामा कमी, ग्लोबल आइएमईले कमायो सबैभन्दा धेरै नाफा


0
Shares

काठमाडौं । गत वर्षको तुलनामा यसपालि १७ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको हो ।

दश वटा बैंकको भने नाफा बढेको देखिएको छ । मर्ज गरेर यो वर्ष संयुक्त कारोबारको विवरण देखाइँदा केही बैंकको नाफा बढेको देखिएको छ । समग्रमा २७ वाणिज्य बैंकले साउनदेखि पुस मसान्तसम्म ३१ अर्ब ७ करोड रूपैयाँ खुद नाफा कमाएका छन् ।

गत वर्षको यस अवधिमा ३२ अर्ब २० करोड नाफा कमाएका थिए । कोरोना प्रभावले आर्थिक गतिविधिमा संकुचन आउँदा नाफामा कमी आएको बैंकर्स एशोशिएसनले जनाएको छ ।

लगानीयोग्य रकम थन्किँदा बैंकको लागत बढ्न गएर नाफामा असर परेको एशोशिएसनले जनाएको छ । बैंकहरूको स्प्रेड दर घट्दै जाँदा नाफामा असर परेको बैंकहरुको ठहर छ ।

हाल यस्तो दर औसतमा ४ प्रतिशत छ, जबकि गत वर्षको यस अवधिमा ५ प्रतिशत रहेको थियो । बैंकहरूले बचतकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजको औसत दर नै स्प्रेड दर हो । यो दर नै बैंकहरूको आम्दानी हो ।

गत वर्ष पुस मसान्तसम्म राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै, २ अर्ब २० करोड खुद नाफा कमाएको थियो । यो वर्ष उसको नाफा १ अर्ब ७५ करोडमा खुम्चिएको छ । ग्लोबल आइएमईले ६ महिनामा सबभन्दा धेरै नाफा कमाएको छ ।

तत्कालीन जनता बैंकलाई गाभेकाले ग्लोबल आइएमईको नाफा उच्चदरले बढेको देखिन्छ । त्यस्तै मेगा, प्राइम कमर्सियल, एनएमबी र कुमारीको नाफा मर्जरएक्वीजिसनकै कारण उच्चदरले बढेको देखिन्छ । प्रभु, सिटिजन्स, नेपाल बंगलादेशले भने वास्तविक रूपमै नाफा बढाएका छन् ।

सनराइज र एनआइसी एसियाको नाफा पनि सामान्य बढेको छ ।