
दुर्गा उपाध्याय
कञ्चनपुर । पुस महिनाभरी प्रायः घाम लागेको कञ्चनपुरमा माघ महिना लागेसँगै ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै देखिएको शीतलहर, बाक्लो हुस्सुका कारण एकातिर वृद्धवृद्धा तथा बालबालिका प्रभावित भएका छन् भने अर्कातिर दैनिक ज्याला मजदूरी गरी छाक टार्ने परिवार समस्यामा परेका छन् । त्यसमा पनि राउटे परिवारको व्यथा अझै कष्टकर बन्दै गएको छ ।
भीमदत्त नगरपालिकाको खल्ला र मटैनामा बस्दै आएका राउटे समुदायको दैनिकी त झनै कठ्याङ्ग्रीदो छ । डेढ दशकदेखि यहाँ बस्दै आएका उनीहरूका कतै कच्ची त, कतै संसद विकास कोषबाट बनेका पक्की घर छन् । तर घरभित्र न ओछ्याउन विस्तारा छ, न त ओढ्ने सिरक, न घरमा झ्यालढोका नै छ ?
चिसो सिरेटो त्यसमा पनि चिसोयाम सुरु भएसँगै अचेल उनीहरू दिनभरी जंगलमा गएर दाउरा बटुलेर ल्याउछन् र दाउरा बालेर आगो ताप्दै रात कटाउने गर्छन् । अत्याधिक चिसो बढेपछि राति सुत्न समेत नसक्ने र आगोकै सहारामा रात गुजार्नु परेको भीमदत्त नगरपालिका ९ मटैनाकी स्थानीय फुनादेवी राउटेको गुनासो छ ।
चिसोको कारण जनजीवन कष्टर भएपछि विभिन्न संघसंस्था र स्थानीय तहमार्फत विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिँदै आएको छ । तर, राउटेहरूलाई भने न सरकारी कार्यक्रमले छुन सकेको छ, न संघसंस्थाले नै समेट्न सकेका छन् । त्यतिमात्रै होइन समाजले समेत आफूलाई चेपुवामा पार्ने गरेकाले फर्किएर पुनः ओढारमै जानुपर्ने अवस्था आएको बटसिंह राउटेको भनाइ छ ।
चिसोका कारण जनजीवन प्रभावित भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले अतिविपन्न परिवारलाई न्यानो कपडा (कम्बल) वितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बस्ती तथा घर–घरमा गएर राउटे परिवार तथा ७० वर्षमाथिका वृद्धवृद्धा तथा अतिविपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चिसोका कारण आमनागरिकले ज्यान गुमाउनु नपरोस भनेर आफूहरूले न्यानो कपडा वितरण गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनुभयो ।
चिसोबाट राउटेका बालबच्चा र गर्भवती महिला बढी प्रभावित छन् । जंगलमा घुम्ने सिकार गर्ने र ओढारमा बसेर जिविकोपार्जन राउटे समुदायलाई चिसोबाट जोगाउन सवैको संयुक्त पहल आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्