
नरेन्द्र मानन्धर
काठमाडौं । अहिले स्थानीय सरकारका जनप्रतिनिधिलाई नक्कली कमलको फूल फूलाउने जाँगर चलेको छ । प्राकृतिक पोखरीमाथि कहर भए पनि संरक्षण गर्ने भन्दै कंक्रिट संरचना निमार्णको लहर देखिएको छ । यसैको पछिल्लो सिकार काठमाडौंको स्वयम्भू महाचैत्य तल रहेको ऐतिहासिक कमल पोखरी हुन लागेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य तल रहेको ऐतिहासिक पोखरीमा फुलेको कमलको फूल स्वयम्भू भगवानलाई चढाइन्थ्यो । प्रत्येक १२ वर्षमा मनाइने सम्यक् महादान पर्वसँग पनि यो पोखरीको विशेष सम्बन्ध छ । सँगैकोे भुईख्यः मा गरिने सम्यक् महादानमा यही पोखरीमा फूलेको कमलको फूल सम्यक बुद्धहरूलाई चढाइन्थ्यो ।
यस्तो धार्मिक र ऐतिहासिक महत्वको प्राकृतिक पोखरी पनि पुनःनिर्माणकोे नाममा कंक्रिटबाट बनाउन थालिएको छ । काठमाडौं महानगरपालिका वडा नं–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोल पोखरीमा पानी जमाउनु नै अहिलेको प्रमुख चुनौती भएकाले कंक्रिट संरचना बनाउन आवश्यक रहेको दावी गर्नुहुन्छ । पोखरीमा पानी जमाउन आवश्यक परे कंक्रिटको वाल बनाइने उहाँको भनाइ छ ।
तर भूमिगत पानी संरक्षणविद् प्रकाश अमात्य यसमा सहमत हुनुहुन्न । पोखरीमा मौसमअनुसार पानी सुक्नु र जम्नु सामान्य प्राकृतिक प्रणाली रहेको उहाँको भनाइ छ । पानी जमाउनु परे परम्परागत प्रविधिबाट नै गर्न सकिने उहाँको तर्क छ ।

पोखरीको बिचमा तामाको कमल फूलसहितको सम्यक बुद्ध स्थापना गर्न पिलर समेत ठड्याइएको छ । महानगरपालिकाको प्रवक्तासमेत रहनुभएका डंगोल भन्नु हुन्छ– ‘यो पुरातात्विक र ऐतिहासिक महत्व हुन्छ ।’
भूमिगत पानी संरक्षणविद् अमात्य भने पानी पुनःभरण, बस्तीमा बाढी–भेल नियन्त्रण र आकाशे पानी संचयको लागि पनि पोखरीमा कंक्रिट संरचना प्रयोग गर्न नहुने बताउनुहुन्छ ।
पर्यावरण र जैविक सन्तुलनको लागि पनि पोखरीको प्राकृतिक स्वरूपलाई कुनै पनि हालतमा विगार्न हुँदैन । तर ठेक्का प्रणालीमार्फत कंक्रिटकै संरचनाबाट मात्र संरक्षण र पुनःनिर्माण हुन्छ भन्ने महानगरको बुझाइलाई कसले सम्झाउने ?
प्रतिक्रिया दिनुहोस्