२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीलाई चुनौती– आँट भए राजीनामा दिएर चुनाव लड्न आउनुस्, जमानत जफत हुन्छ


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै उहाँले हिम्मत भए राजीनामा दिएर निर्वाचन लड्न आउन चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा आफ्ना भक्त लगेर राखेको आरोप लगाउँदै नेता पौडेलले कांग्रेसलाई निर्वाचन जिताउन १७ र २७ गते ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने ठोकुवा गर्नुभयो ।

कांग्रेस नेता पौडेलले केपी ओलीलाई स्थिरताको शत्रु भएको आरोप लगाउँदै जनताले दुईतिहाइ मत दिए पनि नपचेको बताउनुभयो । देशमा समृद्धि नआउनुको मुख्य कारक ओली भएको उहाँको टिप्पणी छ ।

‘नेपालमा समृद्धि नआउनुको मुख्य कारक केपी ओली हो’, पौडेलले भन्नुभयो, ‘केपी ओलीले रेल ल्याउने कुरा कसले छेक्यो, पानीजहाजमा झण्डा फहराउन कसले छेक्यो, घर–घरमा ग्यास पु¥याउन कसले रोक्यो ?’

ओली निरङ्कुस शासक बन्न खोजे पनि आफूहरूले उनको चेष्टा सफल हुन नदिने नेता पौडेलको दाबी छ । उहाँले ओली अहंकारी शासक बनेको टिप्पणी गर्नुभयो । अदालतले प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदमलाई सच्याउने उहाँको विश्वास छ ।

नेता पौडेलले मकैबारीको जिम्मा बाँदरलाई र गणतन्त्रको जिम्मा ओलीलाई दिनु एकै भएको टिप्पणी गर्नुभएको छ । उहाँले ओली गणतन्त्रका लागि घातक भएको बताउनुभयो ।