
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाका नेता तथा कार्यकर्तालाई एक समूहबाट अर्को समूहमा तानातान गर्ने होडबाजी सुरु भएको छ ।
नेकपाको विभाजनपछि संघ तथा प्रदेशका नेता तथा सांसद पनि कहिले ओली त कहिले दाहाल नेपाल समूहमा जाने र छोड्ने क्रम केही समयदेखि चलिरहेको छ ।
केही समयअघि कर्णाली प्रदेश सभामा ओली पक्षका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको असरले नेकपाको केन्द्रमासमेत विभाजन भएको थियो ।
त्यही विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुभएको छ । गत पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै संसद विघटनको प्रभाव अहिले सातै प्रदेशमा देखिएको छ ।
दुवै पक्षका नेताहरु पछिल्लो समय कार्यकर्ता आफूतिर आकर्षित गर्न देशव्यापी रुपमा कार्यकर्ता भेला र सभा गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले सरकारको कदमको बचाउ गर्दै निर्वाचनको पक्षमा जनमत बनाउन लागेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै देशव्यापरी विरोधका कार्यक्रम गरिरहेको छ ।
शीर्ष नेताबीच पदीय भागबण्डा नमिल्दा जनता माझ जाने र नयाँ जनादेश खोज्ने राजनीतिक स्वार्थका कारण पछिल्लो समय राजनीतिप्रति आम नागरिकको वितृष्णा बढ्न थालेको छ । अझ पछिल्लो समय नेपालमा अवलम्बन गरिएको राजनीतिक अभ्यासका कारण नयाँ पुस्तामा राजनीतिप्रतिको आकर्षण घट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्