१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तराईमा शीतलहरका कारण जनजीवन कष्टकर, आगो ताप्ने क्रममा जलेर एकको मृत्यु


0
Shares

काठमाडौं । शीतलहरका कारण तराईका जिल्लाहरुमा जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।

चिसो बढ्दै गएपछि जिल्लाका केही विद्यालयहरु बन्द गरिएको छ । चिसो हावा र बाक्लो हुस्सु लागेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् ।

चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने दलित परिवार झनै प्रभावित बनेका छन् । बच्चा वृद्धवृद्धालाई पनि सचेत रहन चिकित्सकहरु आग्रह गरेका छन् ।

यता, खोटाङ्मा आगो ताप्ने क्रममा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटेहाङ गाउँपालिका खोटाङ बजारकी १ सय १ वर्षिया हिमादेवी अधिकारीको रहेको प्रहरीले जनाएको छ ।

गोठमा बालेको आगोले पोलेर घाइते भएकी अधिकारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।