नेपाली कांग्रेसभित्र गूटः विरासतबाटै पाएको उपहार

news

राजन कुईंकेल

नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको पर्यायवाची पार्टी । सात दशक लामो जीवनकालमा कांग्रेसले तीन ठूला प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको छ । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को माओवादी दुन्दूभीयुक्त हिंसा अन्त्यको अवतरण आन्दोलन ।

संयोगले यो तीन वटै आन्दोलन कांग्रेस पार्टीको नेतृत्वमा भयो । २००७ मा एकलौटीझै, २०४६ मा वामपन्थीहरुसँग मिलेर र ०६२/०६३ मा सशस्त्र हिंसामा रमेको माओवादीसमेतको सहभागितामा । अर्को संयोग २००७, २०४६ र ०६२/०६३ को आन्दोलन सकिएपछिको सरकारको नेतृत्व पनि कांग्रेस नेताले नै गरे ।

तर प्रत्येक पटक प्रजातन्त्रमाथिको मडारिएको कालो बादल रोक्न नेतृत्वले सकेन । त्यसका आन्तरिक र वाह्य कारण होलान् नै । तर घरभित्रको रडाको मूल रुपमा देख्न सकिन्छ । अर्थात् स्थापनादेखि नै विरासतका रुपमा पाएको गूटगत राजनीतिले कांग्रेस आफैले ल्याएको उपलब्धि टिकाउन र त्यसको प्रतिफल जनताका बीचमा पुर्याउन बारम्बार विफल भएको तथ्य छ ।

गूट कांग्रेसको पुस्तैनी विरासत हो । गूटले छिन्नभिन्न भएको वर्तमान कांग्रेसबाट कांग्रेसी र उनका देशी विदेशी शुभचिन्तक दिक्क छन् । तर के यो वर्तमानमा मात्र सृजना भएको रोग हो त ? इतिहास पल्टाएर हेर्दा त्यस्तो देखिन्न । कांग्रेसमा गूट एउटा स्थायी र दीर्घ रोग देखिन्छ ।

यो पार्टी स्थापनाका समयदेखि नै देखिन्छ । कालखण्ड र नेतृत्व अवधिका रुपमा हेर्ने हो भने कांग्रेसको सात दशक लामो इतिहासमा यस्ता गूटहरु सक्रिय थिए । ती गूट समयक्रममा केही लामो चल्थ्यो भने  केही बीचमै टुटफुट पनि हुन्थे ।

हेरौं नेपाली कांग्रेसको सात दशकको इतिहास, उपलब्धि र गूटका असरहरु ।

१. मातृका–वीपी कोइराला गूट/डिल्लीरमण रेग्मी गूट

२. वीपी–महेन्द्रविक्रम शाह–सूर्यप्रसाद उपाध्याय गूट

३. वीपी–सुवर्ण–सूर्यप्रसाद उपाध्याय गूट

४. गणेशमान सिंह–कृष्णप्रसाद भट्टराई–गिरिजाप्रसाद कोइराला गूट

५. गिरिजाप्रसाद कोइराला–कृष्णप्रसाद भट्टराई गूट

६. गिरिजाप्रसाद कोइराला–शेरबहादुर देउवा गूट

७. शेरबहादुर–सुशील कोइराला गूट

८. शेरबहादुर–रामचन्द्र पौडेल–कृष्ण सिटौला गूट (वर्तमानमा गूटभित्रका उपगूट र गिरोहहरु पनि सञ्चालित छन्)

सात दशकको नेपाली कांग्रेस, प्रमुख उपलब्धि र गूटले पारेका असर

पार्टी स्थापनाका प्रारम्भिक दिनहरु

नेपाली कांग्रेस । नेपाली प्रजातान्त्रिक आन्दोलनको अभिन्न दल । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटक पटक भएको आन्दोलनको नेतृत्व । यस नामबाट विसं २००६ सालदेखि यात्रा शुरु ।

त्यसअघि विसं २००३ सालदेखि नेपाली राष्ट्रिय कांग्रेसको नाममा राजनीति । मूख्य नेता देवीप्रसाद सापकोटा, मातृकाप्रसाद कोइराला, बिश्वेश्वरप्रसाद (बीपी) कोइराला, डा. डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी । २००६ सम्ममा राष्ट्रिय कांग्रेसको तीन वटा महाधिवेशन ।

२००३ माघ १२ र १३ मा भारत कलकत्ताको भवानीपुरमा पहिलो महाधिवेशन । टंकप्रसाद आचार्य मानार्थ र वीपी कोइराला कार्यकारी सभापति चयन । बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायत जिम्मेवारीमा । २००४ माघमा भारतकै बनारसमा दोस्रो, २००५ फागुन १८ मा भारत विहारकै दरभंगामा तेस्रो महाधिवेशन सम्पन्न र विभिन्न निर्णय ।

२००४ सालमा डा. डिल्लीरमण रेग्मी गूटका कारण पार्टीमा फूट । २००४ साल साउन १ मा महेन्द्रविक्रम शाहलाई सभापति बनाई सुवर्ण शमशेर, महावीरशमशेर राणालगायतले नेपाल प्रजातान्त्रिक कांग्रेस स्थापना ।

२००६ फागुन १२ मा समान विचार र उद्देश्य बोकेका दुई पार्टी रहनुको औचित्य नहुने भन्दै राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसका सभापति मातृका कोइराला र महेन्द्रविक्रम शाहबाट एउटै पार्टी निर्माण गर्ने सहमति ।

नेपाली कांग्रेसको घोषणा (विसं २००६ चैत्र २७)

२००६ चैत्र २७ गते भारत कलकत्ताको टाइगर हलमा नेपाली राष्ट्रिय कांग्रेसको चौथो महाधिवेशन सम्पन्न । महाधिवेशनमा दुबै कांग्रेसका नेता कार्यकर्ता सरिक । दुबै पार्टीका प्रतिनिधिहरूको संयुक्त अधिवेशनबाट नेपाली कांग्रेस नामक पार्टी घोषणा ।
सभापतिमा मातृकाप्रसाद कोइरालाको चयन । एकीकृत पार्टीका प्रमुख नेताहरुः मातृकाप्रसाद कोइराला, वीपी कोइराला, सुवर्ण शमशेर, महेन्द्रविक्रम शाह, महावीरशमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत । प्रजातन्त्र स्थापनाका लागि सबै खाले रणनीति अपनाउँदै मोर्चा खोल्ने निर्णय ।

२००७ को क्रान्ति र प्रजातन्त्र स्थापनाको घोषणा

२००७ असोज १० र ११ मा रौतहटको सीमा बैरगनीयामा रणनीतिक सम्मेलन । सशस्त्र क्रान्तिबाटमात्र देशमा परिवर्तन सम्भव हुने निष्कर्ष । क्रान्तिको सुप्रिम कमाण्डर सभापति मातृकाप्रसाद कोइराला । क्रान्ति सञ्चालनको बागडोर बीपी र सुवणशमशेरमा । २००७ कार्तिक २१ मा राजा त्रिभुवन नाति ज्ञानेन्द्रबाहेक सपरिवार गद्दीत्यागका साथ दिल्ली शरण । क्रान्तिकारीहरुद्वारा सीमावर्ती शहरहरुमा क्रमशः विजय प्राप्त । दिल्लीमा राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता । १०४ वर्षे जहाँनिया शासनको अन्त्य । २००७ फागुन ७ गते राणा शासनको अन्त्य र बहुदलीय प्रजातन्त्र स्थापनाको घोषणा ।

नेपाली कांग्रेसको महाधिवेशनहरु

पाँचौं महाधिवेशन र पार्टी विभाजन (विसं २००९–२०१२) – विसं २००९ जेठ १०–१३ जनकपुरमा पाँचौं महाधिवेशन सम्पन्न । वी.पी.कोइराला सभापति निर्वाचित ।

सरकार–पार्टीबीच दरार र दुई दाजुभाइबीचको मनोमालिन्य

मातृका र वीपी कोइरालाबीच फूट । दुई दाजुभाईको मनोमालिन्यले सरकार र पार्टीमा असर । दरबार र भारतीय पक्षको प्रभाव । पार्टीद्वारा सरकारको शुद्धिकरणका लागि केही निर्देशन । प्रधानमन्त्री मातृकाप्रसादबाट पार्टी निर्देशन अवज्ञा । काठमाडौंको विशालनगरमा पार्टीको विशेष महासमिति बैठक बोलावट । प्रधानमन्त्री अल्पमतमा । मातृकाद्वारा बैठक बहिष्कार ।

२००९ साउन ८ मा २४ घण्टाभित्र सरकार छाडेर आउन प्रधानमन्त्रीलाई निर्देशन । निर्णया अवज्ञा गरेको भन्दै साउन १० गते मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ्ग र महावीर शमशेर पार्टीबाट निष्काशित । राजालाई शक्तिशाली बनाएको, भूमिसुधार कार्यक्रम लार्गू गर्न नसकेको, भारतलाई अनावश्यक खेल्न दिएको, पार्टीप्रति उत्तरदायी नभई स्वेच्छाचारी ढंगले सरकार चलाएको आरोप ।

मातृकाद्वारा नयाँ पार्टी गठन–(विसं २००९ साउन)

भाई नेतृत्वको पार्टी कमिटीले पार्टीबाट निष्काशन गरेपछि दाजु मातृकाप्रसाद कोइरालाबाट नेपाल प्रजा पार्टी नामको नयाँ पार्टी घोषणा । २००९ साउन २२ मा प्रधानमन्त्री पदबाट राजिनामा । राजाको नेतृत्वमा परामर्शदात्री र नेपाल प्रजा पार्टीको सरकार गठन । परामर्शदात्री सरकारको विरोधमा कांग्रेसद्वारा देशभर विरोध । २०१० असार २ मा परामर्शदात्री सरकार विघटन । सोही मितिदेखि नेपाल प्रजा पार्टीका नेताका रुपमा मातृकाप्रसादलाई राजा त्रिभुवनबाट प्रधानमन्त्रीमा नियुक्त । २०११ को चैत्र अन्तिमसम्म प्रधानमन्त्री ।

छैठौं महाधिवेशन र समाजवादी लक्ष्यको घोषणा (विसं २०१२–२०१४)

२०१२ माघ १०–११ वीरगञ्जमा छैठौं महाधिवेशन सम्पन्न । सभापतिमा सुवर्ण शमशेर निर्वाचित । पार्टीको मूल सिद्धान्त समाजवादी हुने घोषणा । लोकतन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट समाजवादी समाजको निर्माण गर्ने लक्ष्य ।

विशेष महाधिवेशन र भद्र अवज्ञा (विसं२०१४ जेठ १४)– विसं २०१४ जेठ १० मा विराटनगरमा विशेष महाधिवेशन सम्पन्न । बीपी कोइराला फेरि सभापति चयन । मंसिर २२ देखि भद्र अवज्ञा आन्दोलन शुरु । दुई महिना लामो अवज्ञा आन्दोलनमा विभिन्न दल पनि सहभागि ।

राजा महेन्द्रबाट संसदको निर्वाचन गराउने घोषणा– आन्दोलनकै कारण राजा महेन्द्रबाट २०१५ फागुन ७ मा संसदको निर्वाचन गर्ने घोषणा । सुवर्ण शमशेरको अध्यक्षतामा विभिन्न पार्टी सम्मिलित चुनावी सरकार गठन । रुख चिह्नका साथ कांग्रेस मैदानमा । ७ फागुनबाट शुरु भएको मतदान ४५ दिनमा सम्पन्न ।

सातौँ महाधिवेशन (विसं २०१६ बैशाख२५–३१)

विसं. २०१६ बैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंमा सातौैँ महाधिवेशन सम्पन्न । बीपी कोइराला फेरि सभापति चयन ।
दुई तिहाईको कांग्रेस, प्रधानमन्त्री बीपी र २०१७ सालको शाही कू

४५ दिन लामो चुनावको अन्तिम परिणाम २०१६ बैशाख २८ मा प्राप्त । ४७ प्रतिशत मतदाता सरिक । १०९ निर्वाचन क्षेत्र मध्ये १०८ क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस ६८ प्रतिशत अर्थात् ७४ स्थानमा विजयी । दुई साता लामो अन्यौलपछि २०१६ जेठ १३ गते बीपी कोइरालाको प्रधानमन्त्रित्वमा पहिलो जननिर्वाचित सरकार गठन ।

उपप्रधानमन्त्रीमा सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र रामनारायण मिश्रलगायत नेता मन्त्री नियुक्त । प्रथम संसदको सभामुखमा कृष्णप्रसाद भट्टराई र उपसभामुख महेन्द्रनारायण निधि चयन । २०१७ पुष १ गते राजा महेन्द्रद्वारा बीपी कोइराला नेतृत्वका सरकारको सैनिक कू गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा । बीपीलगायत तात्कालीन मन्त्री र कांग्रेसका नेताहरु पक्राउ र कैद । धेरै नेता कार्यकर्ता भारत प्रवासमा ।

पटना विशेष सम्मेलन (विसं २०१७ माघ)

शाही कदमका समयमा विदेशमा रहि पक्राउ पर्नबाट जोगिएका नेता सुवर्ण शमशेरको आह्वानमा २०१७ माघ १२ देखि १३ सम्म भारतको पटनामा विशेष सम्मेलन । सुवर्ण शमशेर कार्यकारणी सभापति र आन्दोलनको कमाण्डर चयन । देशव्यापी अहिंसात्मक आन्दोलन घोषणा । प्रमुख प्रतिपक्षी गोर्खा परिषद् लगायतका दल कांग्रेसमा समायोजन । २०१८ मंसिरबाट सशस्त्र आन्दोलनको घोषणा ।

२०२५ कात्तिकमा बीपी, गणेशमानलगायतका नेताहरु जेलबाट रिहा । २०२९ भदौं ९ बाट बीपीको नेतृत्वमा सशस्त्र संघर्षको शुरूवात । बीपीलगायतका नेताहरु भारत प्रवासमा । २०३१ चैतमा भारतद्वारा सिक्किम विलय । २०३२ मंसिर १ (१७ नोभेम्वर १९७५) मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा संकटकाल घोषणा । सिक्किम विलयले नेपालकै सार्वभौमसत्तामाथिसमेत खतरा पर्नसक्ने आंकलन । इन्दिरा र बीपीबीच वैचारिक टकरावको स्थिति । भारत प्रवासमा रहेका कांग्रेस नेताहरुको बसाई असुरक्षित ।

कृष्णप्रसाद भट्टराईलाई कार्यवाहकको जिम्मेवारी (२०३२ फागुन)

प्रजातन्त्र प्राप्तिका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल भइरहेकै बेला बीपी कोइरालाबाट २०३२ फागुन १ गते सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति नियुक्त । स्वदेशबाटै आन्दोलन चर्काउने रणनीति तय । राष्ट्रियता संरक्षणका लागि राष्ट्रिय मेलमिलापको नीति घोषणा गर्दै २०३३ पुष १६ मा बीपी, गणेशमानलगायतका नेताहरू स्वदेश फिर्ता । तर घाँटीको क्यान्सरबाट पीडित नेता बीपी कोइरालाको २०३९ साउन ६ गते निधन भयो ।

त्रय नेता र २०४६ सालको जनआन्दोलन

कांग्रेस पार्टी निर्माणको मूल नेतृत्व बीपीको निधनसँगै कांग्रेसमा त्रय नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला मूख्य भूमिकामा देखिए । बीपीको निधनले कांग्रेस मियो बिनाको खलोझै हुने हो कि भन्ने आशंका थियो । पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेस–कम्युनिष्टले चलाइराखेका अलग अलग आन्दोलनले परिणाम दिइरहेको थिएन । त्यहि बीचमा कांग्रेस र कम्युनिष्ट नेताहरुले पञ्चायत व्यवस्था मिल्काउन संयुक्त आन्दोलन गर्ने सहमति गरे ।

त्यहि रणनीतिले २०४६ सालको जनआन्दोलन भयो । २०४६ चैत्र २६ गते राजाले शाही घोषणा मार्फत् मुलुकमा बहुदलीय व्यवस्था र शासन जनताका प्रतिनिधिले गर्ने घोषणा गरे । कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई संयुक्त सरकारको प्रधानमन्त्री बने । उक्त सरकारले २०४७ सालको संविधान घोषणाका साथै आमनिर्वाचन सम्पन्न गरायो । नेपाली कांग्रेसले संसदमा बहुमत प्राप्त गर्यो । गिरिजाप्रसाद कोइराला नयाँ प्रधानमन्त्री बने ।

आठौ महाधिवेशन (विसं २०४९ फागुन)– २०४९ साल फागुन ३ मा झापाको कलबलगुडीमा आठौं महाधिवेशन सम्पन्न । कृष्णप्रसाद भट्टराई सभापति चयन । ३१ वर्ष कार्यवाहक भूमिकामा रहेका भट्टराई सभापति चयन ।

२०५१ सालमा पार्टीको आन्तरिक किचलोका कारण संसद विघटन र मध्यावधि निर्वाचन । चौहत्तरे र छत्तीसे समूह । संसद विघटन गर्ने गिरिजाप्रसाद कोइरालाको निर्णयविरुद्ध गणेशमान सिंहको आपत्ति । देशैभर विद्रोही उम्मेदवार । कांग्रेस पराजित ।

पहिलो पटक नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट सरकार निर्माण । मनमोहन अधिकारी सरकारविरुद्ध अविश्वासको प्रस्ताव । संसद विघटन । सर्वोच्च अदालतद्वारा अधिकारी सरकारको विघटनको निर्णय अस्वीकार । २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा त्रिशंकु सरकार निर्माण । सोही वर्षबाट माओवादीबाट ‘दीर्घकालीन जनयुद्ध’ नामक हिंसात्मक राजनीतिको शुरुवात ।

नवौं महाधिवेशन (विसं २०५३ वैशाख)– २०५३ साल वैशाख २९ मा काठमाडौंमा नवौं महाधिवेशन सम्पन्न । गिरिजाप्रसाद कोइराला पार्टी सभापतिमा निर्वाचित । २०५६ सालमा गराइएको संसदको तेस्रो निर्वाचनबाट कांग्रेस फेरि सरकारमा । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री । भट्टराईलाई हटाएर कोइराला फेरि प्रधानमन्त्री । माओवादी सशस्त्र हिंसा चरमोत्कर्षमा । रोल्पाको होलरीमा रहेका माओवादी शीर्ष नेताहरुलाई कार्वाही गर्न नेपाली सेनाले अटेर गरेपछि कोइरालाद्वारा पदत्याग ।

दशौं महाधिवेशन (विसं २०५७ माघ)– २०५७ साल माघ ९ मा कास्कीको पोखरामा दशौं महाधिवेशन सम्पन्न । गिरिजाप्रसाद कोइराला फेरि सभापतिमा निर्वाचित ।

शेरबहादुर देउवाबाट पार्टी विभाजन– संसदीय राजनीति विकृतिले ग्रस्त । सत्ताका लागि जुनसुकै हत्कण्ठा अपनाइने । प्राडोपजेरो, सांसद किनबेच, सुरा सुन्दरीकाण्डले व्यवस्था बदनाम । माओवादी सशस्त्र हिंसा अन्त्यका लागि भन्दै संकटकाल लागु । संकटकालको म्याद थप गर्ने/नगर्ने भन्नेमा कांग्रेस नेतृत्वमा बिमती । म्याद नथप्ने पार्टीको निर्णय । प्रधानमन्त्री देउवाद्वारा पार्टी निर्णय अवज्ञा । पार्टीद्वारा देउवालाई कारवाहीको पत्र । देउवाद्वारा २०५९ असार ४ मा बानेश्वर भेलामार्फत् पार्टी विभाजन गर्दै नयाँ पार्टी नेपाली कांग्रेस(प्रजातान्त्रिक) घोषणा ।

राजा ज्ञानेन्द्रबाट २०५९ असोज १८ मा प्रधानमन्त्री पदबाट बर्खास्त । सर्वत्र आलोचना र आन्दोलनपछि चुनाव गराउने शर्तसहित फेरि देउवा प्रधानमन्त्रीमा नियुक्त । तोकिएको समयमा चुनाव गराउन नसकेपछि २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रबाट दोस्रो पटक अक्षम भन्दै बर्खास्त । राजकीय शक्ति ज्ञानेन्द्रमै निहीत । देउवा २०६४ सालमा मातृ पार्टी कांग्रेसमा विलय ।

दरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंशनाश– २०५८ साल जेठ १९ को शुक्रवारे रात्रि राजा वीरेन्द्रसहितको राजपरिवारका लागि कालरात्रि बन्यो । जेठ १९ गते नारायणहिटी दरबारमा राजा वीरेन्द्रको वंशनाश हुने गरी नृशंश हत्याकाण्ड मच्चाइयो । युवराज दिपेन्द्रले अन्धाधुन्ध गोली चलाएर हत्याकाण्ड मच्चाएको निष्कर्ष । राजाको सिंहासनमा ज्ञानेन्द्र पदासिन । तुलसी गिरि र कीर्तिनिधि विष्टलाई सारथि बनाउँदै शाही शासनको प्रारम्भ ।


एघारौं महाधिवेशन (विसं २०६२ भदौं)– २०६२ भदौं १४–१७ सम्म काठमाडौंमा एघारौं महाधिवेशन सम्पन्न । गिरिजाप्रसाद कोइराला फेरि सभापतिमा निर्वाचित ।

राजतन्त्रको अन्त्य, गणतन्त्र घोषणा र संविधानसभा– कांग्रेसको जीवनकालमै वैचारिक र कार्यनीतिक दुबै कोणले यो अवधि महत्वपूर्ण । माओवादी हिंसा अन्त्यका लागि विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णय । भारतको दिल्लीमा संसदीय दल र माओवादीबीच १२ बुँदे सहमति । २०६२/०६३ को १९ दिने आन्दोलनपछि राजा ज्ञानेन्द्रबाट विघटित संसद पुनस्र्थापना ।

सत्ताको जिम्मेवारी सात दललाई हस्तान्तरण । राजाका सबै अधिकारहरु कटौति । २०६४ सालमा संविधानसभा निर्वाचन । २०६५ जेठ १५ मा गणतन्त्र घोषणा । चार कम्युनिष्ट नेता पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री । पहिलो संविधानसभा संविधान बनाउन विफल ।

बाह्रौं महाधिवेशन (विसं २०६७)– २०६७ साल असोज १ मा काठमाडौंमा बाह्रौं महाधिवेशन सम्पन्न । सुशील कोइराला सभापतिमा निर्वाचित । कोइराला र देउवा गूटका कारण पार्टीले राम्रो काम र गति लिनै सकेन ।

संविधानसभाको दोस्रो निर्वाचन र संविधान घोषणा– एमाले र माओवादी नेतृत्वका चार सरकार संविधान बनाउन विफल । २०७० मंसिरमा दोस्रो संविधानसभा निर्वाचन सम्पन्न । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री निर्वाचित । कोइरालाकै कार्यकालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा ।

तेह्रौ महाधिवेशन (विसं २०७२ फागुन)– २०७२ साल फागुन २०–२३ सम्म काठमाडौंमा सम्पन्न । शेरबहादुर देउवा सभापतिमा निर्वाचित । देउवा, पौडेल र सिटौला गूटका कारण पार्टी अनिर्णयको बन्दी । सम्पूर्ण सांगठनीक संरचना गतिहीन ।

देउवा नेतृत्वकै सरकारले २०७४ साल मंसिरमा गराएको संसदको निर्वाचनमा कांग्रेस पराजित । स्थानीय र प्रदेश सभाका निर्वाचनमा पनि पराजित । संघ र प्रदेश सबैतिर हैसियत खुम्चँदो । आफु नेतृत्वको सरकारमा रहेको माओवादीद्वारा एमालेसँग चुनावमा साझेदारी । एमाले र माओवादीद्वारा पार्टी एकीकरण । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन । करिब दुई तिहाईको सामथ्र्यसहित नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...