
दुर्गा उपाध्याय (ईमेज)
कञ्चनपुर । कोरोना महामारी बढेसँगै स्वाब परीक्षणका लागि कञ्चनपुरमा खरिद गरिएको पीसीआर मेसिन हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
समुदायस्तरमा कोरोना संक्रमण नियन्त्रण गर्न स्वाब परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेको पीसीआर मेसिन हाल कोरोनाविरुद्ध खोप अभियान शुरु भइसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीयमा निराशा छाएको छ ।
गत वर्ष भारतमा कोरोना संक्रमण बढ्दै गएपछि फागुन अन्तिम साताबाट कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिनेको संख्या ह्वात्तै बढ्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लकडाउन अघि गड्डाचौकी नाकाबाट ७२ हजारभन्दा बढी नेपाली भित्रिएका थिए भने लकडाउन पछि पनि ५० हजारभन्दा बढी भित्रिएका थिए ।
यसरी भित्रिएकालाई पालिकाहरुले १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थिए । उनीहरुमध्ये संक्रमणको आशंका गरिएका व्यक्तिहरुको स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।
जसले गर्दा रिपोर्टकै लागि पनि उनीहरुलाई हप्तौसम्म क्वारेन्टिनमा राख्दा आर्थिक भार बढेको थियो । यता जनस्तरबाट पनि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग बढ्न थालेपछि भीमदत्त नगरपालिकाले गत असार २४ गते सुदिप इन्टरनेशनल प्रालिसँग ३८ लाख ४० हजार रुपैयाँमा पीसीआर मेसिनका लागि सम्झौता गरेको थियो ।
सप्लायर्सले गत साउन अन्तिम साता नै मेसिन खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरे पनि अन्य उपकरणको व्यवस्थापन हुन नसक्दा मेसिन सञ्चालनमा आउन सकेको छैन । यसले आमनागरिक निराश भएका छन् ।
नगरपालिकाले तयारी नै नगरी हचुवाको भरमा मेसिन खरिद गरेकाले समयमै पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको स्थानीय बताउँछन् । यता भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट आफूहरुले स्वाब परीक्षणका लागि सजिलो होस भनेर पीसीआर मेसिन खरिद गरेको बताउँदै बाँकी व्यवस्थापनको काम आफ्नो नभएको दावी गर्नुहुन्छ ।
भीमदत्त नगरपालिकाले पीसीआर मेसिन खरिद गरेपनि त्यसको संचालनका लागि जिम्मेवारी बाडफाँड गरिएको छ । पीसीआरका लागि ल्याब स्थापना र कर्मचारी व्यवस्थापनको जिम्मा महाकाली अस्पताललाई दिइएको छ भने आवश्यक उपकरण खरिद र कर्मचारीको तलबभत्ताका लागि प्रदेश सरकारले सहयोग गर्ने महाकाली प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उपकरण जडान, कर्मचारीलाई तालिमलगायतका काम भइसकेका छन् भने स्वाबको नमुना राख्नका लागि आवश्यक फ्रिज पुगेको छैन । आवश्यक तयारी सबै सकिएको र फ्रिज पुग्नासाथ एक साताभित्र पीसीआर मेसिन सञ्चालन गरिने निमित्त सुपरिटेण्डेन डा. हरिकुमार श्रेष्ठ बताउनुहुन्छ ।
पीसीआर मेसिन सञ्चालनका लागि मासिक दश लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसैले आर्थिक स्रोतको व्यवस्थापन नभएकै कारण छ महिनादेखि गोदाममै थन्किएको पीसीआर मेसिनले सञ्चालनपछि निरन्तरता पाउँछ वा आर्थिक भार मात्रै हुने हो भन्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्