१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाउने ईयूको निर्णय,सय भन्दा बढी मुलुक प्रभावित


0
Shares

काठमाडौं । युरोपेली यूनियनले युरोपमा बनेको कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यो प्रतिबन्धले बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित एक सय मुलुकहरू प्रभावित हुनेछन् । तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन् । नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्न ऊसँग अनुमति लिनुपर्नेछ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताउनुभयो । एस्ट्राजेनेकासँग विवादमा उत्रिएको ईयूमाथि खोप वितरणको सुस्त गतिका कारण दबाब छ ।

यस्तै सम्झौता अनुरूप मार्चसम्म उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ । फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कारण खोप आपूर्तिमा ढिलाइ भएको जनाएको छ ।

ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभए अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकार ईयूसंग छ । विश्व स्वास्थ्य सङ्गठनले भने ईयूको कदमको आलोचना गर्दै यसको असर विश्वभर पर्ने जनाएको छ । एजेन्सी