
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।
बर्डफ्लू नियन्त्रणका लागि ‘र्यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रूपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताउनुभयो । उहाँले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताउनुभयो ।
कुनै पनि फार्ममा बर्डफ्लू पुष्टि भएमा तत्काल र्यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने उहाँको भनाइ छ । अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको सहसचिव निर्मलले प्रष्ट पार्नुभयो ।
मन्त्रालयले स्थानीय निकायहरूसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गर्ने स्पष्ट पारेको छ ।
नेपालमा देखिएको बर्डफ्लुको भाइरस विगतमा देखिएको भन्दा कम खतरनाक रहेको विज्ञहरूको भनाइ छ । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लू देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्