१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


घोषणा गरेरै लोडसेडिङ हटाएँ– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देशबाट घोषणा गरेरै लोडसेडिङ हटाएको बताउनुभएको छ ।

बिजुली उत्पादनको १ सय ५ वर्षसम्म देशमा पिलपिल बिजुली भएकोमा आफू प्रधानमन्त्री भएपछि देशबाट लोडसेडिङ हटाउन सफल भएको दावी गर्नुभयो ।

सोमबार धनुषाको ढल्केवरस्थित देशकै सबैभन्दा ठूलो चार सय केभीको सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाल अब भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगेको समेत बताउनुभयो । अबको केही वर्षपछि देशमा बिजुली किन्नै नपर्ने बरु भारत र बंगलादेशलाई बिजुली बेचिने उहाँको दाबी छ ।

गत कात्तिक २६ गते नै सवस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो । उद्घाटन समारोहमा भारतका तर्फबाट विद्युत् व्यापार कर्पाेरेशन, पावर ग्रीड इन्डियाका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्राधिकरणले २२ करोड ४३ लाख रुपैयाँको लगानीमा सवस्टेशन निर्माण गरेको हो । प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रा लि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सवस्टेशन बनाउन जिम्मा दिएको थियो ।

सवस्टेशन सञ्चालनमा आएसँगै ४०० केभीको ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनबाट नेपाल र भारतबीच १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने जनाइएको छ ।