१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग निर्वाचन आयोगको छलफल


0
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ ।

छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या पारेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकोले आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । आयोगले राजनीतिक निकास निस्कनासाथ चुनाव गर्न तयार रहेको बताएको उहाँको भनाइ थियो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरूले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उहाँले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताउनुभयो । उहाँले प्रमुख निर्वाचन आयुक्तहरूसँगको आयोगको छलफल नियमित भेटघाटको रूपमा रहेको स्पष्ट पार्नुभयो ।

सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभयो । मतदाता नामावली अद्यावद्यिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।