
काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा कीर्तिमानी जित हासिल गरेको छ । एपीएफले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० को कीर्तिमानी जित हासिल गरेको हो ।
जारी लिगको अहिलेसम्मकै सबैभन्दा फराकिलो जित निकाल्ने क्रममा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन् । उनले मध्यान्तरअघि ५ तथा मध्यान्तरपछि ७ गोल गरेकी हुन् । यस्तै कप्तान अनु लामाले ५, अनिता बस्नेतले ३ तथा रेनुका नगरकोटी र सरु लिम्बूले समान १–१ गोल गरिन् ।
जितसँगै सशस्त्रले ६ खेलबाट १८ अंक जोडेको छ । अहिलेसम्म सशस्त्रले एक गोल पनि खाएको छैन ।
यसअघि त्रिभुवन आर्मी क्लबले सोमबारै भएको खेलमा विराटनगर महानगरपालिकालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । शर्मिला थापाले ह्याट्रिक गरेको खेलमा बिमला चौधरीले २ तथा रश्मी घिसिङ र बिमला बिकले समान १–१ गोल गरिन् ।
जितसँगै आर्मी ५ खेलबाट १० अंकका साथ लिगको दोस्रो स्थानमा पुगेको छ । सात टोली सहभागी लिगमा अंकविहीन चौदण्डीगढी पुच्छारमा रहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्