१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पुटिनको दरबार’: रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी


0
Shares

काठमाडौं । रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन्।

राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको आरोप लगाएका छन्।

क्रेम्लिनका कट्टर आलोचक एलेक्सी नभाल्नीले उक्त दरबारबारे बनाइएको भिडिओ सार्वजनिक गरेपछि त्यो छोटो समयमै रुसभरि भाइरल बनेको थियो।

‘पुटिनको दरबार’ नाम दिइएको उक्त भिडिओ अहिलेसम्म १९ करोडभन्दा बढी पटक हेरिसकिएको छ।

गत साताको सुरुमा राष्ट्रपतिले उक्त भिडिओमा गरिएको दाबीको आलोचना गरेका थिए।

राष्ट्रपति पुटिनसँग निकट सम्बन्ध रहेका अर्बपति रुटन्बियर्गले गत साता त्यो सम्पत्ति आफ्नो भएको भनी सार्वजनिक दाबी गरेका थिए।

क्रेम्लिन समर्थक म्यास टेलिग्राम च्यानलबाट प्रसारण गरिएको अन्तर्वार्तामार्फत् उनले उक्त खुलासा गरेका थिए।

“केही वर्षअघि मैले ऋणदातासँग सम्झौता गरेको थिएँ र केही वर्षअघि म उक्त क्षेत्रको हकदार बनेको थिएँ,” रुटन्बियर्गलाई उद्धृत गर्दै उनको प्रेस कार्यालयले जनाएको छ।

भिडिओमा त्यहाँ जुवाघर, भूमिगत आइस हकी खेल्ने ठाउँ र अङ्गुरको बगैँचा रहेको दाबी गरिएको छ

रुटन्बियर्गले उक्त दरबारको निर्माण कार्य “केही वर्षमा सकिने” र त्यसपछि अपार्टमेन्टसहितको होटल बन्ने ठानिएको बताएका छन्।

रुसभरि मुख्य विपक्षी नेतालाई थुनामा राखिएको विरोधमा आन्दोलन चर्किएको बेला रुटन्बियर्गले विवादित सम्पत्ति आफ्नो भएको दाबी गरेका हुन्।

यो दरबारबारे किन समाचार बन्न थाल्यो?

जेलमा रहेका क्रेम्लिनका विपक्षी नेता एलेक्सी नभाल्नीको टोलीले ज्यानुअरी महिनाको सुरुमा दरबारबारे बनेको वृत्तचित्र प्रकाशित गरेपछि उक्त सम्पत्तिबारे विवाद चर्चाको विषय बन्दै आएको छ।

उक्त टोलीको खोजमूलक भिडिओमा उक्त दरबार बनेको सम्पत्ति एक अर्ब पाउन्ड बराबरको रहेको र त्यसका लागि “इतिहासको सबैभन्दा ठूलो घुस” दिइएको आरोप लगाइएको छ।

बीबीसीका टिम ह्यूलले सन् २०१२ मा उक्त रहस्यमय दरबारबारे समाचार गरेका थिए। त्यतिबेला उनले पुटिनका तत्कालीन व्यापारसम्बन्धी सहयोगीलाई उद्धृत गरेका थिए।

ती सहयोगीले दरबार खासगरी पुटिनको व्यक्तिगत प्रयोगका लागि बनाइएको आरोप लगाएका थिए तर प्रवक्ताले भने त्यस्तो आरोप त्यतिबेला खण्डन गरिदिएका थिए।

गत साताको सुरुमा, रुसी राष्ट्रपतिले आफू र आफ्नो परिवारको स्वामित्व रहेको भन्ने कुरा ठाडै अस्वीकार गरे र उक्त भिडिओलाई “अल्छीलाग्दो” को सङ्ज्ञा दिए।

दरबारको स्वामित्वबारे आरोप लगाइएको उक्त भिडिओ टिकटकसहितका रुसी सामाजिक सञ्चालबाट हटाइएको थियो।

भ्रष्टाचारका आरोपहरूले देशैभरि सप्ताहान्तमा विपक्षी नेता नभाल्नीको समर्थनमा प्रदर्शनहरू गर्न सहयोग पुगेको थियो।

पुटिनविरुद्ध धेरै वर्षपछि त्यति ठूलो प्रदर्शन भएको थियो।

नभाल्नीको रिहाइको माग गर्दै रुसभरि सहरहरूमा भएका प्रदर्शनका क्रममा ४,००० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको थियो।

भ्रष्टाचारविरोधी अभियानकर्मी नभाल्नीलाई जर्मनीबाट रुस फर्किएलगत्तै गिरफ्तार गरेर हिरासतमा लगिएको थियो।

गत वर्ष स्नायु प्रणालीमा असर गर्ने विष दिएर उनको हत्याको प्रयास गरिएपछि नभाल्नीको जर्मनीमा उपचार भएको थियो।

जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि थुनामा राखिएको छ।

प्रहरीको प्रतिक्रिया र नभाल्नीलाई निरन्तर थुनामा राखिएपछि रुसको अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको छ।

यति हुँदाहुँदै पनि प्रदर्शनहरू रोकिएका छैनन्।

नभाल्नीका निकट सहयोगीहरू र अन्यलाई पनि गत साता यता थुनामा राखिएको छ। उनका भाइ र अभियानकर्मीलाई पनि घरमै नजरबन्दमा राखिएको छ।

खासगरी मानवाधिकारबारे लेख्ने रुसी वेबसाइटका प्रधानसम्पादक सेर्गेइ स्मिर्नोभलाई पनि अघिल्लो शनिवार उनकै घरको बाहिरबाट पक्राउ गरिएको थियो।

उनलाई थुनामा राखिएको र गत साताको प्रदर्शनमा भाग लिएको भन्ने आरोपहरूको अन्य पत्रकारहरूले निन्दा गरेका छन्।

आर्काडी रुटन्बियर्ग को हुन्?

रुसमा रुटन्बियर्ग एक महत्त्वपूर्ण व्यक्ति हुन्।

उनी ठूलो निर्माण कम्पनीका मालिक हुन् जसले पुल र ग्यासका पाइपलाइनजस्ता भौतिक पूर्वाधारको निर्माण गर्छ।

राष्ट्रपति पुटिनका बाल्यकालका साथी र जुडो सँगै खेल्ने भएकाले उनीहरूबीच निकट सम्बन्ध भएको ठानिन्छ।

गत वर्षको अन्त्यतिर सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा प्रतिवेदन खुलासा हुँदा रुटन्बियर्ग र उनका भाइ पनि उक्त घटनामा मुछिएका थिए।

रुटन्बियर्गलाई अमेरिकाले सन् २०१४ यता प्रतिबन्ध लगाएको छ।

अमेरिकी अधिकारीहरूले उनलाई “रुसी नेतृत्वको भित्री समूह” का सदस्य भनी चित्रण गरेका थिए।

उनले “पुटिनका घरेलु परियोजनाहरूमा साथ दिने” अमेरिकी दाबी थियो।बीबीसी