१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा औद्योगिक तथ्याङ्क सुचालु, गुनासो राख्न पाइने भएपछि उद्योगी खुशी


13
Shares

डोलराज रानाभाट
काठमाडौं । कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि स्थगन भएको औद्योगिक गणना मंसिर ११ बाट पुनः थालिएको छ । ३ जिल्लामा कार्यक्षेत्र रहेको तथ्यांक कार्यालय चितवनले यहाँका ५ सय १७ वटा उद्योग प्रतिष्ठानको गणना तथा सर्वेक्षण गरिरहेको र ६० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो ।

१० वा १० भन्दा धेरै कर्मचारीहरु संलग्न ठूला उद्योग प्रतिष्ठानहरूको पूर्ण गणना र तथ्यांकीय विधिबाट छनोटमा परेका ९ जनासम्म कामदार भएका साना उद्योग प्रतिष्ठानहरूको सर्वेक्षण भइरहेको छ ।

औद्योगिक उत्पादन, खानी तथा उत्खनन्, विद्युत उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू गर्ने ठूला तथा साना सबै उद्योग प्रतिष्ठानहरूलाई समेटी एकिकृत रूपमा राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ जारी रहेको गृहलक्ष्मी मेटल इण्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो । आफ्ना गुनासोहरू राख्न पाउने भएकाले पनि गणना हुनु सुखद भएको उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारीमा जुटिरहेको कार्यालयले त्यसअगावै तथ्याङ्क संकलनको सम्पूर्ण कार्यहरू सक्ने गरी तालिका अनुसारनै कामलाई तीव्रता दिएको हो । त्यसका लागि चितवनमा ८ जना गणक खटिएका छन् । राज्यले गरेको यो कार्यबाट प्राप्त तथ्याङ्कलाई सही विश्लेषण गरी उद्योगी व्यवसायिको समस्या समाधानमा सरकार लाग्नुपर्ने हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक अनिल शाक्य बताउनहुन्छ ।

राष्ट्रिय जनगणनापूर्व भएको यो कार्यबाट आएको तथ्याङ्कलाई सरकारले यसै टोकरीमा राख्ने होकी भन्ने चिन्ता उद्योगी व्यवसायीलाई छ । हचुवामा बनाइने नीति र गरिने विकासले कमै परिणाम दिने गर्दछ । त्यसैले गणना मात्रै नभएर आएको नजितालाई विश्लेषण गरी उचित सम्बोधन गर्नु जरूरी छ ।