१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ईश्वरको नाम समेत लिन नचाहने प्रधानमन्त्रीका पूर्वीय दर्शन र संस्कृतिबारे श्रृंखलाबद्ध ‘प्रवचन’


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । आफ्नो राजनीतिक जीवनको धेरै समय धर्मलाई अफिम र अन्धविश्वास भन्दै बिताउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने धर्मको व्याख्या र बयानमा समय खर्चिने गर्नुहुन्छ । मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि असन्तुष्ट भएको समूहलाई आफूतर्फ आकर्षित गर्न रणनीतिक अस्त्रका रूपमा प्रधानमन्त्री ओलीले धर्मको विषयलाई अघि सारेको अनुमान गर्न कठिन छैन ।

आइतबार नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले राजावादीहरूको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य घोषणा गर्नसक्ने जिकिर गर्नुभयो । प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा भएको धर्नामा उहाँले प्रतिक्रियावादीहरूले प्रधानमन्त्री ओलीलाई समर्थन गरिरहेको भन्दै राजावादीसँगको साँठगाँठमा राजसंस्था ब्यूँताउने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।

तर, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर पार्टी राप्रपाले भने प्रधानमन्त्रीसँग कुनै साँठगाँठ नभएको जनाउँछ । प्रधानमन्त्री ओलीसँग आफूहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि साँठगाठ नभएको राप्रपाका नेता राजाराम श्रेष्ठ बताउनुहुन्छ । सगरमाथा र गौतम बुद्ध जस्तै हिन्दु राष्ट्र पनि विश्वसामू गौरव गर्ने विषय भएको उहाँको भनाइ छ । जनताको चाहना र देश बनाउनका लागि पनि राजसंस्थाको आवश्यकता रहेको उहाँको दावी छ ।

प्रधानमन्त्री ओलीले पनि संविधान र लोकतन्त्र रक्षाको सम्बन्धमा आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै आउनु भएको छ । हिन्दु राज्य र धर्मनिरपेक्षता नेपालका अत्यन्त जटिल र पेचिला मुद्दा हुन्  । केही समययता हिन्दु राज्यका पक्षमा निरन्तरजसो प्रदर्शन हुँदै आएको छ । त्यही जनमतलाई आफूतिर आकर्षित गर्न ओलीले पनि केही महिनादेखि पूर्वीय दर्शन तथा संस्कृतिबारे श्रृंखलाबद्ध ‘प्रवचन’ दिँदै आउनु भएको छ ।

भूमिगतकाल होस् वा त्यसपछिका दिनमा धर्मलाई अफिम भन्ने कार्लमार्क्सका अनुयायी तथा ईश्वरका नाममा शपथ समेत नगरेका ‘कम्युनिस्ट’ प्रधानमन्त्री ओलीले गत हप्ता पशुपतिमा गएर संकल्प पूजा गरी राजनीतिक, धार्मिक तथा सांस्कृतिक सन्देश दिन चाहेको देखिन्छ । प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप धर्मलाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्ने दिशातर्फ उन्मुख देखिन्छ ।