
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसँग भेट गर्नुभएको छ । नख्खु कारागारको भ्रमणका लागि त्यहाँ पुग्नुभएका मन्त्री थापाले वलीसँग पनि भेट गर्नुभएको हो ।
वली आफ्नो पुरानो साथी भएकाले भेटेको मन्त्री थापाले बताउनुभयो । कारागार सफाइ तथा अन्य व्यवस्थापनको विषयमा मात्र कुराकानी भएको जिकिर गर्दै मन्त्री थापाले राजनीतिक विषयमा कराकानी नभएको बताउनुभयो ।
भ्रमणका क्रममा मन्त्री थापाले त्यहाँको पानी र सरसफाइको समस्याको बारेमा जानकारी लिनुभएको छ । कारागार प्रशासन र कैदीबन्दीको आग्रह अनुसार भ्रमणमा गएको मन्त्री थापाको भनााइ छ ।
करिब २ हजारको हाराहारीमा रहेका कैदी बन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उहाँले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि बताउनुभयो ।
देशमा राजनीतिक संकट गहिरिँदै गएको बेला मन्त्री थापाले कागागारको भ्रमण गर्नु र सरकारद्वारा प्रतिबन्धित राजनीतिक पार्टी नेकपा विप्लव समूहका नेतासँगको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सरकार विप्लव समूहसँगको वार्तालाई अघि बढाएर शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्