
काठमाडौं । म्यानमारमा सैन्य नियन्त्रणमा रहेकी नेतृ आङ साङ सूचीको रिहाइको माग गर्दै विश्व समुदायले दबाव बढाएको छ ।
सोमबार बिहान म्यानमारको सेनाले ‘कू’ गरी सत्ता हत्याउँदै सूचीसहित ठूलो संख्यामा राजनीतिक दलका नेताहरूलाई पक्राउ गरेको थियो । सैन्य ‘कू’ यता सूची सार्वजनिक भएकी छैनन् । सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले चुनावमा धाँधली गरेर जितेको भन्दै सेनाले सत्ता हत्याएर मुलुकभर एक वर्षे संकटकाल लगाएको छ ।
सोमबार बिहानै पक्राउ परेकी सूचीलाई कहाँ राखिएको छ भन्ने बारे कुनै पनि आधिकारिक जानकारी हालसम्म सार्वजनिक गरिएको छैन । तर, एनएलडी स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने राष्ट्रपति विन मिन्ट र सूचीलाई घरमै राखिएको जनाएका छन् ।
अरु सांसदहरूलाई राजधानी ने पाइ तावस्थित सरकारी निवासमा राखिएको छ । यसअघि सन् १९८९ देखि सन् २०१० सम्म करिब १५ वर्ष घरमै नजबन्दमा राखिएकी सूचीले पत्रमार्फत ‘कू’ विरुद्ध आन्दोलन गर्न आफ्ना समर्थकहरूलाई आग्रह गर्नुभएको छ । पत्रमा सैन्य कदमले मुलुकलाई फेरि तानाशाही तर्फ लैजाने चेतावनी दिइएको छ ।
एनएलडीले आफ्नो पार्टीकी नेतृ सूचीको तत्काल रिहाइको माग गर्दै गत नोभेम्बरको नतिजा स्वीकार गर्न आग्रह गरेको छ । चुनावमा एनएलडीले ८० प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै जित हासिल गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले जनभावनामाथि खेलवाड नगर्न भन्दै फेरि प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । दशकौं लामो सैन्य शासन अन्त्य पछि अमेरिकाले म्यानमारमाथिको प्रतिबन्ध खुकुलो गरेको थियो ।
सैन्य ‘कू’ को दोस्रो दिन म्यानमारमा खुख्य सडकहरूमा सेनाको बाक्लो उपस्थिति कायमै छ भने रात्रीको समयमा कफर््यू लगाइएको छ । बर्मा पनि भनिने म्यानमारमा सन् २०११ सम्म सेनाले शासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्