
काठमाडौं । चालु आर्थिक वर्षमा ७ सय ६४ मेगावाट मात्रै विद्युत उत्पादन हुने विद्युत विकास विभागले जनाएको छ । कोरोना महामारीका कारण विभिन्न ठूला आयोजनाको काममा प्रत्यक्ष असर परेकाले चालु आर्थिक वर्षमा विभागको लक्ष्य भन्दा ४ सय ३६ मेगावाट कम विद्युत उत्पादन हुने भएको हो ।
विभागले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा १२ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको असार मसान्तमै ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोशी निर्माण सम्पन्न हुँदैछ भने ५२ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा छ । यद्यपि कोभिडका कारण अन्य आयोजनाहरूको काम तोकिएको समयमै सम्पन्न हुन नसक्ने विभागका महानिर्देशक नवीनराज सिंहले बताउनुभयो ।
विभागले कोभिडले प्रभावित आयोजनाको अध्ययन गरी राहत प्याकेजको व्यवस्थाका लागि मन्त्रालयमा अध्ययन प्रतिवेदन पेश गरेको छ । तर, अझैसम्म पनि सो अध्ययन मन्त्रालयमा मात्रै पुगेको र कसले कति राहत पाउने भन्ने टुङगो लागेको छैन ।
विभागको तथ्याङ्क अनुसार हालसम्म २५ हजार ५ सय ४६ मेगावाट उत्पादनका लागि ५ सय ७ वटा आयोजनाले उत्पादन र सर्वेक्षण अनुमति लिएका छन् । ती मध्ये १७ हजार २५ मेगावाट उत्पादन गर्ने गरी २ सय ६७ कम्पनीले सर्वेक्षण अनुमति पत्र लिएका छन् । जसमध्ये उत्पादनतर्फ २ सय ४० आयोजनाले ८ हजार ५ सय २० मेगावाट उत्पादन गर्ने गरी अनुमति पत्र लिइसकेका छन् ।
हाल २५ हजार ९ सय ५५ मेगावाट माग मध्ये नेपाल विद्युत प्राधिकरणले ६ हजार ३ सय १२ मेगावाट, निजी क्षेत्रले ५ हजार २ सय ८७ मेगावाट उत्पादन गरिरहेका छन् भने १४ हजार ३ सय ५६ मेगावाट वर्षैपिच्छे आयात भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्