
सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगी मुद्दामा अनुसन्धानका लागि अदालतले फेरि सात दिनको म्याद थपेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धानका लागि जिल्ला अदालतले मंगलबार सात दिनको म्याद थपेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बुधबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई थप अनुसन्धानका लागि सर्लाही ल्याइएको हो । अग्रवालविरुद्ध ३१ जना उखु किसानले वर्षौंदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएकाले पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।
अन्नपूर्ण चिनी उद्योगले उखु किसानलाई १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेकोमा हालसम्म १२ करोड ६३ लाख ७२ हजार १ सय ९८ रुपैयाँ भुक्तानी भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्