१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा राष्ट्रपतिद्वारा टाँचा


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गर्नुभएको हो । जोशीको तस्वीराङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गर्नुभएका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गर्नुभएको थियो ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाउनुभएको थियो । उहाँले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत पदक र पुरस्कार प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताउनुभयो ।