२२ चैत्र २०८१, शुक्रबार | Fri Apr 4 2025


आफू हार्ने चुनाव गर्न मुटु चाहिन्छ, तपाईसँग कस्तो मुटु छ प्रधानमन्त्री ज्यू ?


39
Shares

सञ्जीव कार्की
एक पटक मुटु भएका पत्रकार छैनन् यो देशमा भनेर प्रधानमन्त्रीले धेरै गुनासो गर्नु भएको थियो । त्यतिबेला कस्तो मुटु कत्रो मुटु भनेर जमेर बहश चलेको थियो । डाक्टरहरुले पनि मुटुका प्रकार बारे लेख छपाएर छापा भरेका थिए ? मैले पनि मेरो सूचना र जानकारीमा भएका मुटु बारे उल्लेख गरेर प्रधानमन्त्रीलाई कस्तो मुटुवाला पत्रकार प्रधानमन्त्री ज्यू भनेर लेख भरेको थिए । खतरासंग खेल्ने अर्थात् अत्यन्तै ठूलो जोखिम मोल्नेहरुलाई चलनचल्तीको भाषामा मुटु नभएको भनेर उपमा दिइन्छ मुटु नहुनुको अर्थ हो हिम्मतिलो ।

त्यस्तै हिम्मतिलो पात्र र प्रवृति जसको हिम्मतमा निष्ठा र देशप्रतिको समर्पण भाव भएको कारण सबै किसिमका भ्रस्टाचार बिकृति र विसंगतिबारे लेखेर सूचना प्रवाह गरेर धेरैको पाप कर्म छताछुल्ल पारेका थिए । जो कौडीमा बिक्न चाहेनन् तर आफ्नो व्ययासयिक धर्म निर्वाह गरे, भोकै बसे अनेकन त्रासदी सहे, खेपे, प्रशानासनिक प्रताडना भोगे तर झुकेनन् तिनै मुटु नभएका पत्रकारहरुको कारण सरकारलाई मनोमानी गर्न कतिपय ठाउँमा सम्भव भएन । पत्रकारको साहसले नै बहालवाला सभामुख जेल जानुपर्यो भने बहालवाला मन्त्री गोकुल बाँस्कोटाको घुस बोल कबोल काण्ड बाहिर आयो उनी राजिनामा दिन बाध्य भए । ओम्नी यति वाइड बडी लगायत यावत काण्डको पर्दा उघ्रिएर सरकारको खुनी चेहेरा देखिएको थियो । आदरणीय प्रधानमन्त्रीले भने झैँ खोजे झैँ मुटु हुने पत्रकार मेरो नजरले भ्याए सम्म लेखे अब मुटु हुने केही शासकको बारे लेख्छु । इतिहासको लामो काल खण्डका सबै शासक र घटनाक्रम उल्लेख गर्न सकिन्न तर सात सालको सेरोफेरोबाट चुनाव गर्ने हिम्मतिला मुटु हुने प्रधानमन्त्रीहरु र यँहाको मुटुको तुलना गर्न सान्दर्भिक देखेको छु ।

तपाई पनि असाधारण मुटु भएको हुनुहन्छ जसको कारण नै २०२८/०२९ मा झापामा वर्गशत्रु सफायको नाममा धर्म प्रसाद ढकाल र बुटन चौधरीहरु काटिए । जसको सजाय स्वरूप तपाई १४ वर्ष कठोर जेल यातनामा पर्नु भयो । यातना सहने पनि मुटु चाहिन्छ जुन मुटु तपाईसँग छ । तपाईसँग त्यस्तो मुटु पनि छ जसले दुई दुई पटकको मृगौला प्रत्यारोपणलाई सहजताका साथ स्वीकार गर्यो तसर्थ चिकित्सा विज्ञानले पनि तपाइको शरीर र मुटुको तारिफ गरेको हुनुपर्छ । ‘सामन्तलाई नगिंडे, सैनिकसँग नभिडे आउदैन जनवाद, छमछम नाचेर झोली थापेर’ भन्दै मान्छे काटेको इतिहास भएको प्रधानमन्त्रीलाई कम्जोर मुटु भएको भन्न सकिन्न् त्यो मुटु साहसी नै हो यद्दपि गणतन्त्र ल्याउने पहल गर्दा दलहरुले गणतन्त्रमा जानु पर्छ भन्दा चै त्यो मुटु किन कमजोर भयो समीक्षा जरुरी छ ।

२०६२ तिर दलहरुले गणतन्त्र ल्याउने अठोट गर्दा नेपालको गणतान्त्रिक यात्रालाई बयल गाढा चढेर अमेरिकाको यात्रा भन्ने यँहाको चर्चित बोलि तिर अब गैराख्नु श्रेयस्कर छैन बरु अब त्यो मुटु जसले चुनाव गराउने वचन दिएको छ त्यो चुनाव गराउने ल्याकत राख्छ कि राख्दैन ? कथंकदाचित संसद पुनर्स्थापना भएन भने चुनाव गर्नुपर्ने संबैधानिक बाध्यता छ । हुन त प्रधानमन्त्रीलाई नेपालको संबिधान कानुन र ऐनले छुन सक्दैन तथापि चुनाव गराउने बाध्यता आइलाग्यो भने के तपाईबाट त्यो सम्भव छ ? चुनाव गराउने पवित्र उद्देश्य र जनतामा आफूलाई परीक्षण गर्ने लोकतान्त्रिक बिधिकै निष्ठाको खातिर प्रधानमन्त्री चुनाव गराउन राजी हुनुभएको हो त ? आम मान्छेको शंका र प्रश्न यही हो । आफू जित्ने ग्यारेन्टी भए चुनाव गराउनु हुन्थ्यो होला तर हार्ने प्रवल सम्भावनाको चुनाव गराउने ह्याउ,त्यो उदार छाती, त्यो दरो मुटु प्रधानमन्त्री खडग ओलीसँग बाँकी छ र ?

आफू हार्ने ग्यारेन्टी हुँदा चुनाव गराउने हिम्मत भएका गिरिजा प्रसादको मन्त्रिपरिषद्को सदस्य र अनुभव भएको कारण ओलीले त्यो हिम्मत राख्ने सम्भावना छ त ? ओलीलाई नजिकबाट चिन्ने भनेका चालीसौ वर्षदेखि उहाँको संगत गरेर पार्टीमा रहेका नेकपाका पूर्व एमाले हुँदाका नेताहरु हुन् जो ओलीसँग त्यो निष्ठा,खुला छाती छैन भनेर बिद्रोह गरेर निस्केका छन् भने अरुले कति पत्याउने ? साँगुरो मुटु भएको मान्छे भनेर आज तपाईका पूर्व सहकर्मीले तपाइको उछितो काढेको देखिन्छ । आम सर्वसाधारणले कसरी विश्वास गर्ने तपाईलाई ? आफ्नो नेतृत्वमा हुँदा आफूले भनेजसरी जस्तो २०५४ को स्थानीय चुनाव भएको थियो त्यस्तो गर्ने सक्ने बामदेव पनि गृहमन्त्री हुनुहुन्न् यस्तोबेला चुनाव भयो भने जित्ने सम्भावना कति होला र ? कि राजा ज्ञानेन्द्र शाहले गराएको चुनाव जस्तो मात्रै गर्ने हो ? त्यस्तो चुनावलाई देस विदेशबाट मान्यता मिल्ने सम्भावना हुदैन ।

हार्ने चुनाव गर्ने मुटु प्रजातान्त्रिक नेताको जस्तो हुनुपर्छ जुन तपाईसँग नहोला ? कांग्रेसका नेताहरुको यावत दुर्गुण र बैगुनहरु छन् । देशमा पटकपटक राज्यसञ्चालनको अभिभारा पाउँदा पनि राज्य संचालन गर्न नसकेको थुप्रै आरोप र विवादहरु छन् तर चुनावी निष्ठा र चुनाव गर्ने संयोग पाएर क्षमता प्रदर्शन गर्ने हारलाई विनित स्वीकार गर्ने कांग्रेसीहरुको एउटा कल्चर चै बेजोड छ नेपालको लागि । त्यहि संस्कार र संस्कृतिको कारण २०७४ सालको निर्वाचन जहाँ कांग्रेसको सर्मनाक पराजय छर्लंग थियो । स्थानीय चुनावमा पहिलो भएको तत्कालिन एमाले र तेस्रो माओवादी मिलेर चुनावमा गएका थिए । पार्टी एकता गर्ने उदघोष पनि थियो जुन भयो पनि त्यस्तो चुनाबमा कांग्रेसको पराजय ढुंगामा लेखेको अक्षर जस्तो पक्का थियो तर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले खुट्टा कमाएनन आफ्नो प्रजातान्त्रिक आस्था बचाए ।

प्रधानमन्त्री देउवाले चाहेको भए बहानाबाजी गरेर आफ्नो पार्टी अनुकुल अवस्था नभए सम्म चुनाव गराउने घृणित खेल खेल्न सक्थे तर पद्धति जिताउँदा कांग्रेस हार्दा पनि देशलाई घाटा हुन्न । चुनाव सम्पन्न भयो कांग्रेस पराजित बन्यो । नेकपा एमाले र माओवादीको मोर्चाले झन्डै दुई तिहाई सिट संसदमा जित्यो तर दुर्भाग्य यो संसद जसको आयू पाँच वर्ष संबिधानमा कोरिएको थियो तर यसलाई बिगठन गरेर प्रधानमन्त्री उल्टो बाटो हिड्न पुगे । आफ्नो सरकार ढल्ने भयबाट उन्मुक्ति पाउन संसद असमयमा हत्या गर्न पुगे । आफ्नो पार्टीको अविश्वास प्रस्ताव सामना गर्ने हुती नभएका प्रधानमन्त्रीले आफू हार्ने चुनाव गर्छन भनेर कुन कारण विश्वाश गर्ने ? चुनाव हुने कारण र पर्याप्त आधार बनिसकेको छैन यसर्थ प्रधानमन्त्रीको स्वच्छ र सफा अनि सुरो मुटुबारे प्रश्नहरु उठेका हुन्,उठाइएका हुन् ।

प्रजातान्त्रिक निष्ठा र आदर्श सहितको फराकिलो मुटु जसले नेपालको इतिहासमा सभ्य भव्य र सानदार चुनाव गराए कतिमा चुनाव हारे, कतिमा जिते तर समग्र चुनाव र प्रजातान्त्रिक निष्ठामा समर्पित बने । यी सबै चुनावी सरकारको नेतृत्व अपवादमा (२०७० को चुनाव प्रधानन्यायाधिस खिलराज रेग्मी, लोकेन्द्र बहादुर चन्द २०५४ स्थानीय चुनाव, स्थानीय तहको निर्वाचन २०७३ मा प्रचण्डबाट प्रारम्भ) बाहेक सबै चुनाव २०१५ देखि २०७४ सम्म नेपाली कांग्रेसका नेताहरुबाट मात्र सम्भव भएको छ । यो रेकर्ड ब्रेक गर्ने मौका ओलीको भागमा शायद पर्छ पर्दैन ?

एतिहासिक चुनाव गर्ने अभिभारा पाएका नेपाली कांग्रेसका नेताहरु क्रमशः सुवर्ण शमशेर राणा २०१५ , कृष्ण प्रसाद भट्टराई २०४८, २०४९ , गिरिजाप्रसाद कोइराला २०५१, २०५६ ,एतिहासिक संबिधानसभा चुनाव २०६४ गिरिजाप्रसाद कोइराला, २०७३ को स्थानीय तहको दोश्रो चरणको निर्वाचन र संघीय संसद र प्रदेश सभाको निर्वाचन २०७४ शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको छ । तसर्थ अब त्यो ऐतिहासिक रेकर्डलाई ब्रेक गर्न प्रधानमन्त्री ओलीको दम पुग्छ कि पुग्दैन ? प्रधानमन्त्री ओलीलाई तपाईसँग विद्यमान मुटु कस्तो छ ? आम मान्छेको तर्फबाट मेरो सवाल छ ।

मुटु चाहिन्छ भन्नुको मतलव पनि हिम्मतिलो मुटु नै हो । स्वस्थ मुटु । मुटु छैन भन्नुको अर्थ झिंगाको झैं मुटु नै नहुने जैविक शरिर पनि पक्कै होइन । मुटु भएको मान्छे र मुटु नभएको मान्छे दुवैको आशय एकै हुन्छ । हिम्मतिलो मुटु । हिम्मतिलो मुटुले वीरतापूर्ण कार्य गर्छ । फराकिलो मुटु कठोर मुटु हिम्मतिला मुटुका दुई परिभाषा हुन् कठोर मुटु हुनुको प्रमाण तपाईले बारम्बार प्रकट गर्नु भएको छ त्यो झापाको टाउको कटुवा विद्रोहदेखि आजसम्म । मानव मुटुविहिन हुदैन तर मुटुको विशेषता हुन्छ । आकार तौल र सानो ठूलो मुटुको बनौटको आधारमा यसको विशेषता उल्लेख हुँदैन केवल मान्छेको सोच्ने विवेक पुर्याउने र कार्य गर्ने क्षमताको आधारमा मुटु हुने मान्छे मुटु नहुने मान्छे , कोमल मुटुको मान्छे र कठोर मुटुको मान्छे, साधारण मुटुको मान्छे र असाधारण मुटु हुने मान्छे, संवेदनशील मुटु र भनेर बर्गिकरण गरिन्छ । संवेदनशील मुटु ,पराक्रमी मुटु कुन मुटु छ प्रधानमन्त्रीसँग ? माछाको झैं दुई कोठा, भ्यागुताको झैं तीन कोठा भएको मुटु निश्चय नै छैन होला ।

मुटु रोग विशेषगज्ञले स्वस्थ मुटुको परिचय दिए झैँ चार कोठा भएको मुटुमा दायाँतर्फको दुई कोठाबाट,अक्सिजन कम भएको निलो रगत र बायाँतर्फबाट,अक्सिजनले भरिपूर्ण रातो रगत बहने मुटु तपाईसँग छ भने चुनाव गर्नुस । प्रतिनिधि सभा बिगठन भयो भने बिनामोलाहिजा निस्पक्ष र धाँदली रहित चुनाव गर्नुस । चुनाव सजिलो त नहोला किन भने जित्ने बानि परेको जित र विजयको गीत सुन्ने बानी परेको कान हार र पराजय सुन्न मान्ला र ? स्वतन्त्र निस्पक्ष र विश्वसनीय चुनाव गराउनु भयो भने तपाई माथिको निरङ्कुश र अधिनायक बन्न लागेको धब्बा मेटिने छ । चुनावी जित हार भन्दा ठूलो निष्ठा सिद्धान्त र मूल्य, बिधि र पद्धतिको राजनीति हो । चुनावले कुनै पार्टीको जित हारलाई जिताउदैन बरु पद्धति र विधिलाई जिताउछ । तपाईसँग कस्तो मुटु छ प्रधानमन्त्री ज्यू ?