१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चण्डालघाटमा पुल बन्दा स्थानीयको खुसी, भन्छन्– ‘अब खोलाले बगाएर मान्छे मर्दैनन्’


0
Shares

प्रकाश नेपाल
इलाम । माइखोलाको जँघार तर्दा वर्सेनी दर्जनौंको ज्यान गएको स्थान चण्डालघाट माथिबाट अहिले पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि जँघार तर्नु पर्ने अवस्थाको अन्त्य भएको छ भने नदी तर्नेक्रममा कसैले पनि ज्यान गुमाउनु पर्नेछैन ।

नदीले बगाएर र नाउ पल्टेर मृत्यु भएकाको स्मरण गर्दै स्थानीय दिलमाया तामाङले पुल निर्माणपछि सुख भएको बताउनुभयो । अर्का स्थानीय कालीबहादुर तामाङले पनि पुल बनेपछि सुविधा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिला पारी तर्न नाउमा ३ सय रुपैयाँसम्म तिर्नुपर्थ्यो, अहिले पुल आएपछि एकदमै सुविधा भयो ।’

माइ नगरपालिका–१ र ७ जोड्ने माइखोलामा २४ करोड रुपैयाँको लागतमा पुल निर्माण भएको हो । तर, आसपासका सडक भने धुलाम्मे छन् । पुल निर्माणपछि यस क्षेत्रमा उत्पादन हुने फलफूल र नगदेबालीलाई तराईको बजारसम्म पुर्याउन सहज हुनेमा स्थानीयवासी आशावादी छन् । व्यापारीका लागि मात्र होइन पुल बनेपछि विद्यार्थीलाई पनि आउजाउ गर्न सजिलो भएको को स्थानीयवासी राजकुमार मगर बताउँछन् ।

इलामको दानाबारी र महमाई जोड्ने पुल नहुँदा वर्षायाममा माइखोलामा डुङ्गा चलाएर जँगार तर्नुपर्ने बाध्यता थियो । हिउँदमा भने बाँसको फड्केबाट वारपार गर्न सकिन्थ्यो । पुल निर्माणपछि दक्षिण पश्चिमी इलामसहित छिमेकी जिल्ला पाँचथरका बासिन्दालाई पनि फाइदा पुगेको छ । पुल बनेपछि स्थानीयवासी धुल्लामे सडक पिच हुने आशामा छन् ।