
काठमाडौं । काठमाडौं उपत्यकामा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो चरणका खेल सकिएका छन् । अन्तिम खेलमा बुधबार नेपाल पुलिस क्लब पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १–० ले पराजित भएको हो । विराटनगरलाई जितमा पार्वती घलेले खेलको नवौं मिनेटमै निर्णायक गोल गरिन् । त्यसपछि पुलिसका दुई प्रहार गोल पोष्टको पोलमा लागेर फर्केका थिए ।
बुधबारै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित हासिल गर्ने क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० ले हरायो । आर्मीलाई एक दर्जन गोल दिलाउने क्रममा शर्मिला थापाले ह्याट्रिकसहित पाँच गोल गरिन् । सपना लामाले दुई तथा कप्तान अञ्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक–एक गोल गरे ।
पहिलो चरणको समाप्तीसम्म ६ खेलबाट १६ अंक जोडेको सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ भने १३ अंकको आर्मी दोस्रो स्थानमा छ । विराटनगर १० अंकसहित तेस्रो स्थानमा पुगेको छ । पुलिस भने ८ अंकसहित चौथो स्थानमा झरेको छ । वालिङ नगरपालिका ८ अंकसहित पाँचौं, चन्द्रपुर नगरपालिका ३ अंकसहित छैटौं तथा अंकविहीन चौदण्डीगढी पुच्छारमा छ । दोस्रो चरणका खेलहरु शनिबारदेखि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्