
काठमाडौं । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल- नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ ।
हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन् । हड्तालमा बन्द गराउँदै हिडेका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ४० जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
हड्तालमा बन्द प्रभावकारी बनाउन दाहाल-नेपाल समूहले ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।
संवैधानिक निकायमा सरकारले गरेको पछिल्लो नियुक्तिलाई यो समुहले बलमिच्याइँको पराकाष्टा भनेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दैदाहाल-नेपाल समूहले आज देशब्यापी आम हड्तालको घोषणा गरेको हो ।
दाहाल-नेपाल समूहले आम हड्तालका कारण जनतामा पर्ने असहजताका निम्ति क्षमाचायना गरेको छ । आज अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै क्षेत्र बन्द हुने संघर्ष समितिले जनाएको छ । आगामी २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम पनि यथावत नै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्