१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा हड्ताल आह्वान गर्ने दाहाल–नेपाल समूहका दुईजना प्रहरी नियन्त्रणमा


0
Shares

दिलिप कुमार यादव
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हड्तालको आह्वान गर्दै हिडेका दाहाल–नेपाल समूहका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।

सदरमुकाम तौलिहवाबाट नेकपाका जिल्ला सदस्य दीपक पाण्डे र अनेरास्ववियु नेता हरिशचन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका पाण्डे र खनाललाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेको छ । उनीहरूको बिनाशर्त तत्काल रिहाइ गर्नुपर्ने नेकपा कपिलवस्तु र अनेरास्ववियूको माग छ ।

जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । उहाँको अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दैै ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला सदरमुकाम तौलिहवामा हड्तालको आंशिक प्रभाव परेको छ भने चारनम्बर जीतपुर, बनगाई, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायत क्षेत्रमा पूर्णरूपमा प्रभाव परेको छ । एम्बुलेन्स, खानेपानी, दमकल, जस्ता अत्यावश्यक सवारी साधन बाहेक पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि अन्य सवारी चलेका छैनन् ।