
सुरेन्द्र भण्डारी
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहानैदेखि झापाका विभिन्न चोक–चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहानैबाट सडकमा सवारी सञ्चालनमा रोक लगाएपछि यसको प्रभाव सर्वसाधारण र व्यवसायीमा देखिएको छ ।
बन्दका कारण झापामा बिहानैदेखि लामो तथा छोटो दूरीको सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बिहान फाट्टफुट्ट चलेका निजी तथा सार्वजनिक सवारीका साधनलाई नेकपाका कार्यकर्ताले सडकमा अवरोध गरेपछि दिउँसोदेखि बन्द भएको थियो ।
बिहीबार घर जानका लागि बसपार्क पुगेकी धरानकी तुलसा लुवागुनले आफूहरूलाई दुःख दिने कसैलाई पनि भोट नदिने बताउनुभयो । ‘भोटका लागि बन्द गरेका होलान्,’ उहाँले भन्नुभयो, ‘अब भोट माग्न आए भने कसैलाई पनि भोट दिन्न ।’
सरकारसँग चित्त नबुझेको कुरा भए सरकारलाई दुःख दिनुपर्ने बताउँदै सर्वसाधारणले सरकारसँगको रिस आफूमाथि पोखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले आफूहरूलाई दैनिक गुजारा गरेर खान दिन पनि आग्रह गरेका छन् ।
प्रहरीले अवरुद्ध सडक खुलाउन प्रयत्न गरे पनि सकेन । नेकपाका कार्यकर्ताले सडकमा सरकारविरुद्ध नाराबाजी र असंवैधानिक कदम सच्याउन माग गरेका छन् । कोभिड महामारीका कारण लामो समयसम्म मुलुकमा लकडाउन गरिएको र लगत्तै सत्ताको लडाइले पुन बन्दको आह्वान गरिएको भन्दै व्यवसायी तथा सर्वसाधारणले बन्दको विरोध गरेका छन् ।
अटो व्यवसायी पुन्यप्रसाद संग्रौलाले आफूहरूको पीडामा रहेका बेला नेताहरू हालखबर समेत सोध्न नआएकोमा आक्रोश पोख्नुभयो । ‘८ महिना लकडाउन हुँदा कुनै नेता सडकमा हाम्रा पीडा बुझ्न आए ? उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘अनि उनीहरूका लागि हामीले लडेर बन्द गर्नुपर्ने ?’
आम हड्तालका कारण बजार तथा विद्यालय पूर्ण रूपमा बन्द गरिएका छन् । झापाका मुख्य शहरहरू बिर्तामोड, दमक, काँकडभिट्टा लगायतका राजमार्गमा नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सवारी साधन सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
नेकपा भित्रको आन्तरिक विभाजनका कारण बन्दहड्ताल फेरि सुरु भएसँगै कतिपयले तेस्रो जनआन्दोलनको सूचकको रूपमा पनि यसलाई हेरेका छन् । सर्वसाधारणले सरकारले मुलुकमा अराजकता बढाएको भन्दै सरकारलाई सम्यम भएर सबैको माग सम्बोधन गर्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्