१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय महिला लिग : दोस्रो चरणको खेल तालिका सार्वजनिक, अन्तिम खेल आर्मी र एपीएफबीच


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार अन्तिम खेल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन दशरथ रंगशालामा सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । उद्घाटन खेलमा आर्मी र नेपाल पुलिस क्लब रंगशालामै भिडेका थिए ।

पहिलो चरणको समाप्तिसम्म सशस्त्र सत्प्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको आर्मीको १३ अंक छ । शनिबारदेखि हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमै हुनेछन् ।

पहिलो पटक दोहोरो लिगको आधारमा भइरहेको प्रतियोगितामा विराटनगर महानगरपालिका १० अंकसहित तेस्रो स्थानमा रहँदा ८ अंकको पुलिस चौथो स्थानमा छ । ८ अंककै वालिङ नगरपालिका गोल अन्तरका आधारमा पाँचौं, ३ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुच्छारमा छ ।

दोस्रो चरणको पहिलो खेलमा शनिबार आर्मी र चौदण्डीगढी भिड्ने छन् ।