१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आमहड्तालको नेतृत्व गरेका कुन नेताले के भने ?


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । संविधान, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका निम्ति देशव्यापी रूपमा आमहड्ताल गर्नुको विकल्प नदेखिएको नेकपाका दाहाल–नेपाल समूहका शीर्ष नेताहरूले बताएका छन् ।

उपत्यकाका मुख्य सडकहरूबाट हड्तालको नेतृत्व गरेका शीर्ष नेताहरूले सरकारको असंवैधानिक कदमविरुद्ध असहज परिस्थितिबाटै अगाडी बढ्नु जनताकै हितका लागि भएको तर्क गरे ।

बुधबार सरकारले संवैधानिक आयोगका नियुक्त पदाधिकारीहरूलाई शपथ गराएपछि प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहलाई आन्दोलनमा होमिन थप बल पुर्‍याएको छ ।

दाहाल–नेपाल समूहले प्रधानमन्त्री र राष्ट्रपतिको थप प्रतिगामी कदमलाई रोक्न भन्दै बिहिबार देशव्यापी रूपमै आमहड्ताल गर्दा संघीय राजधानी काठमाडौं उपत्यकामा समेत यसको प्रभाव देखियो । उपत्यकाकाको पुल्चोकमा हड्तालको प्रतिनिधित्व गर्नुभएकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको रक्षाका निम्ति आमहड्तालको विकल्प नभएको तर्क गर्नुभयो ।

सातदोबाटोस्थित दाहाल–नेपाल समूहका नेतृ बिना मगरले सरकारको असंवैधानिक कदमविरुद्ध असहज परिस्थितिबाट अगाडी बढ्नुपरे पनि जनताको हितकै लागि हड्ताल गर्न बाध्य भएको बताउनुभयो ।

कोटेश्वरबाट हड्तालको नेतृत्व सम्हाल्नु भएका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले हड्तालले सर्वसाधारणमा समस्या आए पनि सरकारको गैरसंवैधानिक कदमविरुद्ध एक दिने हड्ताल महत्वपूर्ण भएको तर्क गर्नुभयो ।

प्रहरीले हड्तालमा उत्रिएका दाहाल–नेपाल समूहका थुप्रै नेता कार्यकर्तालाई नियन्त्रणमा पनि लिएको छ । थायी कमिटि सदस्य भुसालले आफ्ना पार्टीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिनु प्रतिगामी सरकारको पराजयको परिचय भएको जिकिर गर्नुभयो ।

लोकतान्त्रिक मुलुकमा सरकारको असंवैधानिक कदमविरुद्ध सडक संर्घषमा उत्रिनु खासै नौलो कुरा होइन । तर, प्रतिगमन विरुद्धको नाममा जनजीवन नै प्रभावित गर्ने आमहड्तालजस्ता गतिविधिले कति महत्त्व राख्छ भन्ने विषयमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्