
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली विचलित भएको बताउनु भएको छ । शुक्रबार नेकपा ओली समूहले गरेको आमसभामा ओली सन्किनु भयो भने जे पनि बोल्न सक्ने भन्दै दाहालले ओली विचलित अवस्थामा भएको बताउनु भएको हो ।
ईमेज टेलिभिजनसँग कुरा गर्दै दाहालले विभिन्न फण्डाहरु बोल्दै आउनुभएका प्रधानमन्त्री ओली सकारात्मक कुरा गर्नै नसक्ने ठोकुवा गर्दै केही न केही बोल्ने बताउनुभएको हो । ओली समूहको बृहत आमसभा शुक्रबार नारायणहिटी दरबार अगाडि राखिएको छ । पछिल्लो समय धर्मप्रति निकै आशक्त देखिएका ओलीले हिन्दु राष्ट्र र राजतन्त्रका विषयमा सांकेतिक रुपमा विभिन्न कामहरु गर्दै आउनु भएको छ ।
पशुपति गएर पूजा आराधना गरेको र नारायणहिटी अगाडि आमसभा गर्न लागेको कुराले उहाँ निकै आलोचित हुनुभयो ।
प्रधानमन्त्री ओली अझै निरंकुश र लोकतन्त्रको हत्या गर्न उद्दत रहेको दाहालको आरोप छ । ओलीको नियति पुरैका पुरै नसकिदासम्म उल्टै बाटो हिडिराख्ने उहाँको दावी छ । पार्टी एकताको प्रसंगमा दाहालले अब कुनै पनि हालतमा पार्टी एकता नहुने बताउनु भएको छ । जुन दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय सच्याउनु हुन्न तबसम्म एकता सम्भव नभएको उहाँले बताउनुभयो ।
वामदेव गौतमले पार्टी एकता गर्न पहल गरिरहेको बारे सञ्चारकर्मीको प्रश्नमा दाहालले वामदेवसँग एकता भएपनि ओलीसँग कुनै पनि हालतमा एकता नहुने ठोकुवा गर्नुभयो ।
अध्यक्ष दाहालले फागुनको पहिलो हप्ताबाट लोकतन्त्रको रक्षाका लागि सबै प्रतिनिधिसभा विघटनको विरोध गरिरहेका पार्टीहरु संयुक्त आन्दोलनमा जाने बताउनुभयो ।
निरंकुशतालाई सदाको निम्ति बिदा गर्न पनि ठूलो जनआन्दोलन आवश्यक भएको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्