१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टहराबाट वार्षिक ७० लाख उठाउँदै नगरपालिका, संरचना निर्माणमा भने एक रुपैयाँ खर्चिएन


0
Shares

सुरेन्द्र भण्डारी
झापा । जिल्लाकाे सुरुङ्गा बजार बाह्रैमास सञ्चालनमा आउने मुख्य बजार हो । तर पनि यो बजारको हविगत अहिले पनि उस्तै छ । बाँसको टहरामा सञ्चालन हुँदै आएको बजार सुधारकालागि सुरुङ्गाका व्यवसायीले धेरैलाई हारगुहार गरेपनि बजारको अवस्थामा सुधार हुन सकेको छैन् ।

झापाको सदरमुकाम चन्द्रगढीदेखि झण्डै ५० किलोमिटर उत्तर पश्चिममा रहेको कनकाई नगरपालिकास्थित सुरुङ्गा बजारलाई एक दशक अघिदेखि नै बन्द निषेधित क्षेत्र घोषणा गरिएको हो ।

यो बजार जस्तो सुकै बन्दको समयमा पनि पूर्ण रुपमा सञ्चालनमा रहने यहाँको मुख्य बजार पनि हो । तर, पनि यहाँका व्यवसायीले यस्तो बाह्रैमास सञ्चालनमा आउने बजारमा पनि अझै टहराकै भरमा व्यवसाय सञ्चालन गर्नु पर्ने बाध्यता छ ।

कनकाई नगरपालिकाले बजार व्यवस्थापनका लागि कुनै चासो नदिएका कारण आफूहरुले दुःखजिलो गरी व्यवसाय सञ्चालन गर्नु परेको स्थानीयको गुनासो छ । स्थानीय सरकार बनेपछि सुरुङ्गा बजारको मुहार फेरिने धेरैको अपेक्षा थियो ।

संघ, प्रदेश र स्थानीय सरकारले आ– आफ्नै तरिकाले सुरुङ्गा बजारको विकास गर्लान् भन्ने सोचेका भएपनि त्यो सपना अझै पुरा हुन सकेको छैन् । सुरुङ्गा बजारमा व्यवस्थित टहरा बनाउन र ढलको उचित व्यवस्थापन गर्न नगरपालिकासंग पटक – पटक माग गरेपनि नगरपालिकाले सुनुवाई नगरेको सुरुङ्गा बजार व्यवस्थापन समितिका सचिव अर्जुन कुमार विमलीको आरोप छ ।

सुरुङ्गा यो जिल्लाकै पुरानो बजार मध्येको एउटा महत्वपूर्ण बजार हो । वार्षिक ७० लाख रुपैयाँमा नगरपालिकाले ठेक्का लगाउँदै आएको यो बजारको विकासका लागि नगरपालिकाले एक रुपैयाँ पनि खर्चिएको छैन । जसले गर्दा बजार अव्यवस्थित बन्दै गएको वजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवीप्रसाद खरेलको दुखेसो छ ।

सुरुङ्गा बजारमा अहिले झण्डै सातसय भन्दा बढी व्यवसायीले टहराको भरमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । जिल्लामै पहिलो पटक बन्द निषेधित बजारका रुपमा घोषणा भएको यो बजारलाई थप व्यवस्थित गर्न स्थानीय सरकार र वजार व्यवस्थापन समितिले बाँसले बनाएका टहरा हटाएर स्थायी संरचना बनाउन जरुरी देखिन्छ ।