२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

भागरथी मृत्यु प्रकरण : तालिमप्राप्त कुकर परिचालन, गाउँपालिकाद्वारा शोक बिदा


0
Shares

Bhagrathi bhatta death after rape

विनोद विष्ट
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ ।

बिहीबार किशोरीको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान थप सहज होस् भन्नका लागि धनगढीबाट तालिमप्राप्त कुकर सहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्ट मृत अवस्थामा लवलेक जंगलमा फेला परेकी थिइन् । किशोरीको शव फेला परेपछि घटनास्थलमा प्रहरीको टोली खटिएको र घटनास्थललाई सुरक्षित पारिएको छ ।

किशोरीको बलात्कारपछि हत्या भएको हुनसक्ने परिवारको आशंका छ । शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने मृतक किशोरीका आफन्त शिवराज भट्ट बताउनुभयो । उहाँले भन्नुभयो, ‘शरीरमा निलडाम, घाउ छन्, कपडा पनि च्यातिएको अवस्थामा थियो ।’

प्रहरीले भने मृतक किशोरीको शव परीक्षण पछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाइ कारवाहीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तहरूले जनाएका छन् । किशोरीले प्रयोग गरेको मोबाइल र पाठ्यपुस्तक भेटिएका छैनन् ।

मृतक किशोरी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् ।

किशोरीको मृत्युपछि शोकमा दोगडाकेदार गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले विज्ञप्ति जारी गर्दै किशोरीको शोकमा गाउँपालिका अन्र्तगतका कार्यालय र सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जानकारी दिनुभयो ।

विद्यार्थी संगठनद्वारा निश्पक्ष छानविनको माग
किशोरी हत्याको घटनाको बैतडीका विद्यार्थी संघ संगठनले पनि निन्दा गरेका छन् । नेपाल विद्यार्थी संघले निश्पक्ष छानविनको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । कम्युनिष्ट सरकारले सुरक्षा दिन नसकेको कारण यस्ता घटना बढिरहेका नेविसंघको आरोप छ । घटनालाई आलटाल गरी दोषीलाई उन्मुक्ति दिने काम गरिए शसक्त आन्दोलनमा उत्रने भन्दै नेविसंघको चेतावनी दिएको छ ।

यस्तै नेकपा प्रधानमन्त्री ओली निकट अनेरास्ववियूले भट्टलाई बलात्कारपछि हत्या गरेर फालिएको दावी गरेका छन् । ‘भागरथी भट्टमाथि बलात्कारपछि क्रुरतापूर्वक हत्या गरिएको पाशविक घटनाको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको जघन्य तथा अक्षम्य अपराधका दोषीलाई अविलम्ब गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ ।’

विवेकशील साझा पार्टीले पनि घटनाको यथासिघ्र छानविन गर्न माग गरेको छ । पार्टीले यथासिघ्र र वैज्ञानिक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा गाउँघरमा बलात्कार र हत्या जस्ता घटनाबढिरहनु हाम्रो राज्य संयन्त्रको असफलता मात्रै हैन हाम्रो सामाजिक चेतना र खस्किदो नैतिक स्तरको नमूना पनि हो । यस्ता घटना दोहोरिन नदिन कानुनी संयन्त्र चनाखो र सक्षम हुन जरुरी छ ।’