१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँ नपरेपछि तुसारोमै रमाउँदै टीएमजी घुम्न गएका पर्यटक पर्यटक


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले (टीएमजी) क्षेत्र यतिबेला हिउँले सेताम्मे हुनुपने हो । तर, यस वर्ष हिउँ हैन, तुसारोमय मात्र भएको छ । पर्यटकीय रूपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा रहेको गुफापोखरी क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र भए पनि यस वर्ष हिउँ नपरेका कारण सुनसान देखिन्छ ।

खासगरी हिउँद याममा हिउँ खेल्न नेपालको विभिन्न स्थानबाट पर्यटकहरू यहाँ आइपुग्ने गरेको भए पनि यस वर्ष पुगेका फाट्टफूट्ट पर्यटक पनि तुसारो हेरेरै फर्कने गरेका छन् । गुराँसको राजधानीको नामले चिनिएको यो ठाउँ पर्यटकहरूको मुख्य गन्तव्य बनेको छ ।

तर, माघको तेस्रो साता बितिसक्दा पनि यसवर्ष हिउँ परेको छैन । पुसदेखि माघको अन्तिम साता सम्म हिउँले ढाक्ने यहाँका पहाडहरू यसरी तुसारोले मात्र ढाकेको देखिन्छ । काठमाडौं देखि हिउँ खेल्नकै लागि आएकी नानु बस्नेतले तुसारो हेरेरै फर्किनु पर्दा दुःख लागेको बताउनुभयो ।

धनकुटाको चित्रे डाडाँदेखि तिनजुरे गुफा पोखरी लगायतका ठाउँमा हिउँ पर्दा सेताम्यै हिमाल झँै देखिने गरे पनि यस वर्ष सुख्खा छ । यस वर्ष हिउँ पर्ने समय बितिसक्दा पनि हिउँ नपरेपछी तुसारो मै भए पनि पर्यटक रमाउने गरेको सामुदायिक वन उपभोक्ता नगर वन महासंघ वसन्तपुरका अध्यक्ष रामकृष्ण निरौला बताउनुहुन्छ ।

हिउँ नपरेपछि यसरी दैनिक झैँ तुसारो पर्दा यहाँको बालीनाली पनि सखाप भएको छ । पर्यटकीय आकर्षणको रूपमा रहेको यस क्षेत्रमा यस वर्ष कोरोनाका कारण बाह्य पर्यटकहरू भने कमै भित्रिएका छन् । जाडोमा हिउँ तथा गुराँस फुल्ने सिजनमा गुराँसको रक्ताम्य वनमा पर्यटकहरू मोहित हुने गरे पनि यस वर्ष उजाड हुँदा गुफापोखरीको रौनक पनि धुमिल हुदै गएझैँ देखिन्छ ।