१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संविधान रक्षार्थ सर्वोच्चमा रिट निवेदन दिएकाे सभामुख सापकोटाको प्रस्टोक्ति


0
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताउनुभएको छ ।

सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रूपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि सर्वोच्च अदालतमा पुगेको बताउनुभएको हो ।

सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताउनुभयो । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको उहाँको भनाइ छ ।

संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको सभामुख सापकोटाले बताउनुभयो । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उहाँको भनाइ छ ।

सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिदैँ सभामुख सापकोटाले संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको बताउनुभयो । आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रमा राखेर गर्ने बताउँदै उहाँले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिनुभयो । देश र जनताको पक्षमा ठिक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्‍यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताउनुभयो ।

सभामुख सापकोटाले स्वेच्छाचारी ढङ्गले संविधान माथि खेलवाड गर्दै संविधान विपरितका कार्यहरू थपिदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने बताउनुभयो । उहाँले संवैधानिक आयोगहरूमा भएको नियुक्तिको विरुद्धमा शुक्रबार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराउनु भएको छ । मुद्दाको पेशी आइतबार बिहान १० बजेलाई तोकिएको छ ।

बरिष्ठ अधिवक्ता एवं कानूनी जानकारहरुका अनुसार यस अघि कुनै पनि सभामुखले सम्माननीत सर्बोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराउनु भएको थिएन । सम्माननीय सभामुखले आज दर्ता गराउनु भएको रिट नै सभामुख सर्बोच्च अदातलमा पुगेर रिट दर्ता गरेको पहिलो घटना बनेको छ ।