
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।
संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको निष्कर्ष निकालेका छन् । सरकार देशमा भएका समस्याहरूप्रति गैरजिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील र उत्तरदायी नभएको उनीहरूको ठहर छ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नुलाई भत्र्सना गर्दै जनताको सवोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेको छ ।

नेपाली कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनकाे विराेधमा माघ १९ गते देशभर विराेध प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशभर यसको विरोधमा प्रदर्शन भइरहेको छ । सत्तारुढ नेकपाकै एक समूह अहिले सडकमा उत्रिएर प्रधानमन्त्री ओलीके कदमको विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्