
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ । तनहुँको दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो ।
कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको जिकिर गर्नुभयो । उहाँले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नु पर्ने बताउनुभयो । कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा उहाँले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्