१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भागरथीको दोषीलाई पक्राउ गर्न दबाब बढ्दो, प्रहरीको थप अनुसन्धान टोली बैतडी पुग्यो


0
Shares

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीको १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको पक्राउका लागि दबाब बढिरहेका बेला प्रहरीको थप अनुसन्धान टोली बैतडी पुगेको छ ।

स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाउन सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी पञ्चकुमार बाखुको टोलीले बैतडी पुगेको हो ।

भागरथीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानका आधारमा घटना भएको क्षेत्रमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा वीभत्स रुपमा हत्या गरिएको अबस्थामा शव फेला परेको थियो ।

शव परीक्षणको रिपोर्ट एक दुई दिनमा आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

अपराधी पत्ता नलागेको भन्दै भागीरथीका परिवारले भने शब बुझन मानेका छैनन् । भागरथीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।

यता, हिजो मात्र नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ । भागरथीको न्यायको माग गर्दै विभिन्न स्थानमा प्रदर्शनहरु भएका छन् ।