
हरि शर्मा
पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा अहिले पुरुष तथा महिलाका लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले माघ ५ गतेदेखि सञ्चालन गरेको शिविर २८ गतेसम्म सञ्चालन हुने छ ।
४ वटा स्थानीय तहमा सम्पन्न भएका शिविरमा ४ सय ३० जनाले बन्ध्याकरण गराएका छन् । बन्ध्याकरण गराउनेमा एक जना पनि पुरुष छैनन् । सबै महिला छन् । घर खर्च चलाउने पुरुषले ठूलो श्रम गर्नु पर्ने र स्वास्थ्यमा समस्या आउने भन्दै महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न रोक्ने गरेको पाइएको हो ।
पुरुषले कमाउनुपर्ने भएकाले महिलाले बन्ध्याकरण गर्ने गरेका छन् । आफुहरु घरमै बस्ने भएर महिलाले नै बन्ध्याकरण गर्ने गरेका छन् ।
बन्ध्याकरण गरेपछि नपुंसकता हुने, कमजोरी हुने गरुङ्गो सामान उठाउन नमिल्ने जस्ता गलत सोचका कारण महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । पुरुषको तुलनामा महिलाको बन्ध्याकरण अलि जटिल हुन्छ । तै पनि परम्परागत सोचले अहिले पनि महिला नै आउने गरेको शिविरका डा. यमबहादुर बस्नेतले बताउनुभयो ।
जिल्लामा हरेक वर्ष सञ्चालन हुने शिविरमा एक दुई जनाबाहेक बन्ध्याकरण गराउने सबै महिला नै हुने गरेका छन् । हिमाली र पहाडी क्षेत्रभन्दा तराईका ग्रामीण क्षेत्रमा परम्परागत सोचका कारण पुरुषहरु बन्ध्याकरणका लागि अग्रसर हुने गरेको पाइँदैन । तसर्थ परम्परागत गलत सोचलाई हटाउन सरकारले ग्रामीण क्षेत्रमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्