१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२ मिटर पानी घटाएर फेवातालको बाँध मर्मत, ६० वर्षमा ६ वर्गकिलोमिटर घट्यो


0
Shares

प्रदिप पौडेल
पोखरा । पानीको चुहावट बढेपछि फेवातालको पानी रोक्ने मुख्य ड्याम चार दशकपछि मर्मतसम्भार गर्न थालिएको छ । ड्याम मर्मतका लागि तालको दुई मिटर पानी घटाइएको छ । यसअघि सामान्य रूपमा ड्याम मर्मत गरिए पनि बृहत् मर्मत भएको थिएन ।

ड्याम मर्मतकका लागि एक महिना लाग्ने भएकाले तालको पानी एक महिनासम्म घटिरहने जलश्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि सामान्य टालटुलका काम भए पनि अहिले ठूलो रकम खर्चेर बृहत् मर्मत हुँदैछ ।

ड्यामको मुनिबाट पानी रसाएपछि जोखिमका सम्भावनलाई मध्यनजर गर्दै मर्मत थालिएको आचार्यले बताउनुभयो । ड्यामको गेटमा रहेको रबरसिल परै बिग्रिएकाले मुनिबाट पानी चुहिएको हुनसक्ने अनुमान गरिएको छ । यसअघिको मर्मतमा पनि रबरसिल नफेरिकाले अहिले फेर्न लागिएको उहाँको भनाइ छ ।

वि.सं. २०३५ पछि मर्मत नगरिएको ड्याम मर्मतका लागि एक करोड रुपैयाँ खर्च हुनेछ ।

तालको पानी घटाएपछि फेवाताको सुन्दरतामा पनि ह्रास आउनुका साथै डुंगा व्यवसायी प्रभावित भएका छन् । डुंगा चढ्न जानेहरू हिलो हुँदै आउजाउ गरिरहेका छन् । पानी कम भएको मौका पारेर स्थानीयले माछा मारिरहेका छन् ।

वि.सं. २०१७ पहिलोपटक बाधिएको फेवातालको बाँध २०१९ मा पूरा भएको थियो । त्यसपछि तालले स्वरुप लिएको फेवातालको बाँध २०३१ मा भत्किएको थियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर तालको जग्गा अतिक्रमण गरिएको यसअघिका अध्ययन प्रतिवेदनले देखाएका छन् । २०३५ सालमा पुनः बाँध बनेपछि तालले पुरानै रूप लिएको हो ।

वि.सं. २०१८ सालमा १० वर्गकिलोमिटर रहेको फेवातालको क्षेत्रफल अहिले करिब ४.२ वर्गकिलोमिटर छ । वि.सं. २०३१ मा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ मा तालको क्षेत्रफल ४.२ वर्ग किलोमिटरमा झरेको विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख छ । त्यसपछि भने फेवातालको मापन गरिएको छैन ।