१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी लैजाने गरी बाहिर निस्कन्छाैं– अभियन्ता पाण्डे


13
Shares

अक्कल कुँवर
काठमाडौं । मंसिर महिनाभरी संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै विभिन्न राजावादी समूहले मुलुकका विभिन्न भागमा श्रृङ्खलाबद्ध प्रदर्शन गरे ।

कुनै राजनीतिक दलको नेतृत्वविना नै विभिन्न समूहका व्यानरमा भएका प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिन थालेपछि मुलुकको राजनीतिक वृत्तमा पनि हलचल भएको थियो । तर, प्रतिनिधिसभा विघटनसँगै बदलिएको राजनीतिक समीकरणले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर शक्तिहरूको हलचललाई एकाएक ओझेलमा पारेको छ ।

गत पुष ५ गते प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई समूहले सडक कब्जा गरेका छन् । एउटा समूह प्रतिनिधिसभा विघटनविरुद्ध दिनदिनै कुनै न कुनै प्रकारको सडक प्रदर्शन गरिरहेको छ भने अर्को समूहले पनि विघटनको औचित्य पुष्टि गर्न सडकलाई नै रोजेको छ ।

यस्तै, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलहरूले पनि विघटनविरुद्ध छिटफुट प्रदर्शन गरिरहेका छन् । तर, गत मंसिरमा आकस्मिक रूपले बौरिएका राजसंस्था र हिन्दु राष्ट्र पक्षधरहरू भने प्रतिनिधिसभा विघटनपछि बदलिएको राजनीतिक परिदृष्यसँगै ओझेलमा परेका छन् ।

अनपेक्षित जनसहभागिताका बाबजूत पनि राजसंस्था पक्षधरको अभियान किन आझेलमा प¥यो त ? अभियानका अभियन्ता मध्येका एक बसन्तविक्रम पाण्डे भन्नुहुन्छ, ‘तयारी भइसकेको छ, अब हामी राष्ट्रिय झण्डा बोकेर बाहिर निस्कँदा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारलाई निर्मल निवासबाट बोकेर नारायणहिटी लैजाने गरी मात्र निस्कन्छौं ।

अभियन्ता पाण्डेले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल भएको दावी गर्दै नेताहरूले जनता र देशको बारेमा सोच्दै नसोचेको आरोप लगाउनुभयो । ‘१२ बुँदे सम्झौताले भित्र्याएको आयातित गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता नेपालका लागि अफापसिद्ध भएको राजनीतिक दलका नेताहरूले नै देखाउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘राजमुकुट, राजदण्ड र श्रीपेचबाट बर्हिगमन हुँदा पनि राजाले अहिलेसम्म कसैलाई पनि गाली गर्नुभएको छैन, तर नेताहरू पद, प्रतिष्ठा र पैसाका लागि एक–अर्कालाई गाली गरिरहनुभएको छ ।’

राजसंस्थाको प्रखर वकालत गर्दै आएको राप्रपा पनि गणतन्त्रको माग गर्दै सडकमा ओर्लिएको थियो । राप्रपाकै अगुवाइमा झापा, हेटौंडा लगायत विभिन्न शहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै प्रर्दशन भयो । तर, पछिल्लो समय राप्रपा राजावादीहरूको प्रदर्शनमा सेलाएको पार्टीका नेता राजाराम श्रेष्ठ बताउनुहुन्छ ।

‘राजतन्त्र मुलुकको आवश्यकता र औचित्य महसुस गर्दै सडकमा स्वतस्फूर्त आफ्ना आवाजहरू उठाइरहेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘पार्टीले जसरी राजसंस्था र हिन्दुराष्ट्रको विषयमा विशेष कार्ययोजना ल्याउँदै प्रस्तुत हुनुपर्नेमा सशक्त ढङ्गले नआइराखेको अवस्थालाई स्वीकार गर्नुपर्छ ।’

काठमाडौं, झापा, नेपालगञ्ज, बुटवल, धनगढी, सुर्खेतलगायत शहरमा शक्ति प्रदर्शन गरेका ‘वीर गोर्खाली’ र ‘स्वतन्त्र राष्ट्रवादी अभियान’ राजसंस्थाको पक्षमा भएका प्रर्दशनमा आधा दर्जन बढी संस्थाको अगुवाइ देखिएको थियो । उनीहरूले प्रर्दशनलाई ‘कास्टिङ’ मात्रै भनेका थिए । पछिल्लो समय ती सबै संस्थाका अभियान ओझेलमा परेसँगै राजसंस्था पुर्नवहालीको अभियान कास्टिङमै सीमित हुने देखिएको छ ।

राजसंस्था र हिन्दुराष्ट्र पक्षमा गरिएको विरोध प्रर्दशनमा गणतन्त्र पक्षधर पार्टीका नेता तथा कार्यकर्ता पनि सहभागी थिए । राजसंस्था पक्षधरहरूको दावी मान्ने हो भने आगामी दिनमा पनि वर्तमान व्यवस्थाविरुद्धको आवाज पुनः उठ्ने देखिन्छ ।