
दिपेन्द्र अधिकारी
काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धान साँघुरिएको बताएको छ । तर, यो घटनामा पनि निर्मला प्रकरण नै दोहोरिने त होइन भन्ने आशंका उत्तिकै बढेको छ ।
भागरथी हत्याको निश्पक्ष छानविनको माग गर्दै नेपाली कांग्रेसले घटनालाई कतैबाट प्रभावित नगर्न पनि चेतावनी दिएको छ । यस्तै घटनामा गैर जिम्मेवार नबन्न नेपाल–दाहालपक्षीय नेकपाले पनि सरकारलाई सचेत गराएको छ । त्यस्तै विवेकशील साझा पार्टीले पनि यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन सरकारसँग आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चा लगायतका दल तथा शीर्ष नेताहरूले घटनाको सत्य तथ्य छानविन तथा दोषिमाथि कारबाहीको माग गरेका छन् ।
निर्मला पन्त हत्याको अनुसन्धानमा राजनीतिक रंग मिसाइएकाले पीडितले न्याय पाउन नसकेकोले भागरथी भट्ट हत्या प्रकरणमा पनि सोही नियती दोहोरिने मानव अधिकारकर्मी मोहना अन्सारीको शंका छ ।
‘महिला हिंसाको घटनाहरूमा न्यायप्राप्तीको अवरोधको रूपमा राजनीतिक दल र प्रशासनिक निकायहरु छन्,’ उहाँले भन्नभुयो, ‘राजनीतिक प्रभाव र दबावले न्याय प्राप्तीको बाटो गम्भीर बन्न जान्छ ।’ यद्यपि राजनीतिक दलहरूले यस्ता घटनामा खबरदारी गर्नुलाई भने उहाँले स्वागत गर्नुभएको छ ।
घटनामा अपराधि नै पत्ता नलाग्ने हो कि भन्ने आशंका बढिरहँदा प्रहरीले भने निर्मला पन्तको घटना पछि अझै सर्तकताका साथ अनसन्धान गरिरहेको जनाएको छ । कुनै पनि हालतमा अपराधी पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुहुन्छ ।
‘जिल्ला प्रहरी, प्रदेश प्रहरी र सिआइबीको टीमले संयुक्त रूपमा अनुसन्धानलाई अगाडि बढाइहेका छौं,’ उहाँ भन्नुहुन्छ, ‘कुनै पनि हालतमा अपराधीलाई कानुको दायरामा ल्याउँछौं, अभियुक्त छुट्न सक्दैन ।’
निर्मलापन्तहत्या पछि भएको प्रदर्शनमा एक जनाले ज्यान नै गुमाएका थिए । भागरथी भट्टका आफन्त तथा स्थानीयबासिन्दाले पनि सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । न्याय पाउनका लागि नागरिक नै सडकमा उत्रनु पर्ने अवस्थालाई न्याय प्रक्रियामाथि नागरिकको अविश्वासको रुपमा पनि लिइएको छ ।
तर, बारम्बार दोहोरिने यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कठघरामा ल्याउन नसक्ने हो भने राज्य संयन्त्रप्रति नै नागरिकको विश्वास टुट्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्