
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा सिमित वालिङलाई पराजित गर्न आर्मीकी शर्मिला थापा र विमला चौधरीले एक–एक गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट आर्मीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ४३ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई २–० को जित दिलाइन् ।
खेलको ८३ औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोइली दुई पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
जितसँगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्