
काठमाडौं । दाहाल–नेपाल समूहले बुधवार काठमाडौंमा गर्ने बृहत् शक्ति प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले बुधबार ५ ठाउँबाट जुलुस निकालेको छ ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निस्किएको जुलुसका कारण उपत्यकाको सवारी आवागमन भने असहज भएको हो ।
जुलुस निस्कन सुरु गरेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ।
ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार साना सवारी साधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको छ ।
प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।
गत माघ २३ गते नेकपा ओली समुहले गरेको शक्ति प्रदर्शनको जवाफ दिने भनेपनि दाहाल–नेपाल समूहले त्यसअघि नैं आजको कार्यक्रम घोषणा गरिसकेको थियो ।
दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो ।
ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट र्याली, जुलुस र आमसभा हुने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्