
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले ग्रामीण क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ ।
संखुवासभास्थित भेडेटार–जिविस जोड्ने सडकको स्तरोन्नत्तिबारे ज्ञापनपत्र बुझाउन पुगेको टोलीसँग कुरा गर्दै उहाँले सडक सञ्जाल बिस्तारबाट मात्र विकास सम्भव हुने बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रको विकासमा सरकारले ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।
राज्यमन्त्री मानन्धरले संखुवासभाको भेडेटारबाट–जिल्ला विकास समितिसम्म जोड्ने सडकको मर्मतको लागि सरकारले बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभयो । उहाँले स्थानीय स्तरबाट समेत सडक मर्मतमा चासो राखेको भन्दै यहि फागुन मसान्तभित्र बजेटको व्यवस्थापन हुने वचनसमेत दिनुभयो ।
सडक मर्मत नहुँदा बर्षातको समयमा बाढी पहिरो जाँदा गाउँ जोखिममा पर्ने भएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारले आवश्यक पहल गर्ने उहाँको भनाइ थियो । स्थानीय समाजसेवी हरिहर खनालले बर्षातको समयमा खाँदबारीबजारबाट आउने भेलले सडकमुनिको बस्ती जोखिममा पार्ने गरेको भन्दै सडकको व्यवस्थित मर्मत गर्न आग्रह गर्नुभएको थियो ।
वर्षातको समयमा बजारबाट झर्ने ढल निकास नहुँदा सडकमा क्षति मात्र पुग्ने नभइ सडक मुनिको बस्तीसमेत जोखिममा पर्ने भएकाले त्यसतर्फ राज्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्