
प्रज्ञा तिमल्सिना
काठमाडौं । दाङको लमही घर भएकी २६ वर्षीया पुनिकला चौधरी, बुधबार बिहान ७ बजे काठमाडौं ओर्लिनुभयो । पहिलो पटक काठमाडौ आएकी उनको एउटै चाहाना थियो काठमाडौं कस्तो छ भनेर हेर्नु ।
श्रीमानले जाउँ भनेपछि १ वर्षीय छोरा बोकेर पुनिकला काठमाडौं आउनुभयो । काठमाडौं घुम्न पाइन्छ भनेर आएको तर कस्तो छ भन्ने हेर्न नै नपाएको उहाँले बताउनुभयो । भृकुटीमण्डप अगाडिको बाटोमा बसिरहेकी उहाँ विरोध प्रर्दशन किन भइरहेको छ भन्नेमा अनविज्ञ हुनुहुन्छ ।
छोरीले काठमाडौं देख्न पाइन्छ जाऔँ भनेपछि पुनिकलाकी ५० वर्षीया आमा पनि आएको बताउनुहुन्छ । कस्तो लाग्यो काठमाडौं ? घुम्न पाउनुभयो भयो त ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, ‘बसबाट ओराले, खाना खान दिए, अनि हिडाउँदै यहाँसम्म ल्याए, खै काठमाडौं त कस्तो–कस्तो ?’
दाहाल–नेपाल समूहले गरेको विरोधसभामा बालकदेखि वृद्ध–वृद्धासम्मको उपस्थिति थियो । सिराहा जिल्लाबाट आएका केही सहभागी महिला यहाँ के भइरहेको छ ? के भन्दै भाषण गरिरहेका छ भन्ने थाहा नपाएको बताउँछन् ।
‘त्यहाँ के भनेको हो केहिपनि बुझेको छैन,’ सहभागीमध्ये एकले भन्नुभयो, ‘काठमाडौं देखेको थिएन, हेर्न आको ।’ सहभागी केही व्यक्तिहरूले त नेपाली भाषा नै बुझ्दैनन् ।
केही व्यक्तिहरूले भने मिचिएको संविधानको रक्षाका लागि काठमाडौं आएको बताए । कहाँ संविधान मिचेर काम गर्न पाइन्छ त ? उनीहरूको प्रश्न थियो । उनीहरूलाई भने किन विराेधमा छु भन्ने थाहा थियाे ।
विरोधसभामा बाजागाजासहित र्याली निकालिएको थियो । र्यालीका कारण सार्वजनिक र निजी सवारीसाधन भने मारमा परेका थिए । संसद विघटनको विरोधमा काठमाडौंमा लगातार भइरहेको प्रदर्शनमा काठमाडौंबासी भन्दा पनि बाहिरी जिल्लाबाट ओसारिएका ब्यक्तिको उपस्थिति बढी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्