१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीको असंवैधानिक कदम र बलात्कारविरुद्ध काठमाडौँमा शुक्रबार मार्चपास हुँदै


0
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शुक्रबार (भोलि) काठमाडौंमा मार्चपास गरिने भएको छ ।

यसैगरी शुक्रबार नै पछिल्ला समयमा लगातार बढिरहेको बालिका/किशोरी/महिला बलात्कार र हत्याविरुद्ध काठमाडौंमै ‘बलात्कार विरुद्ध मार्चमास’ गरिने भएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रजातान्त्रिक विचार समाजले काठमाडौंको माइतीघर मण्डलमा विहान ११ बजे धर्ना र त्यसपछि बानेश्वरसम्म मार्चपासको कार्यक्रम राखेको हो ।

समाजका अध्यक्ष डा। केदारनरसिंह केसीले प्रधानमन्त्री ओलीको कदमले संविधान च्यातिएको र मुलुकलाई अँध्यारो सुरुङमा प्रवेश गराउने खेल भएकाले त्यसविरुद्ध प्रजातन्त्र र नागरिक अधिकार पक्षधरहरुले धर्ना र प्रदर्शन गर्न लागिएको बताउनुभयो । प्रजातन्त्र र नागरिक अधिकारको रक्षाका लागि साथ र समर्थन व्यक्त गर्न उक्त समयमा उपस्थितिका लागि उहाँले सबैमा अपील पनि गर्नुभएको छ ।

यसैगरी, शुक्रबार नै मुलुकमा लगातार बलात्कारका घटना भइरहेको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गरिन लागेको हो । एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने भन्दै मार्च पास गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

बृहत नागरिक आन्दोलनका तर्फबाट मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीलगायतले बलात्कारविरुद्ध वसन्तपुरदेखि सिंहदरबारसम्मको मार्चपासमा सहभागि हुन अपील गर्नुभएको हो ।
वसन्तपुरमा २ बजे भेला भएर मार्चपास सिंहदरबारतर्फ अघि बढ्ने विज्ञप्तिमा जनाइएको छ ।