
काठमाडौं । दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिनुभएको छ।
राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई उहाँकै निवास शंखमुलबाट प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तारी दिनुअघि समर्थक र संञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले न्यायप्रेमी जनतालाई संगठित गर्ने क्रममा अभिव्यक्त भएका विचारका कारण गिरफ्तार गर्नु दुःखद भएको बताउनुभयो ।
उहाँले आफू कानुनको पालक भएकाले कानुन अनुसार गिरफ्तारी दिने स्पस्ट पार्नुभयो ।
प्रहरीले बिहीबार उहाँको शंखमुलस्थित घरमा पुगेर राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएको थियो ।
यो कसुर अन्तर्गत झाँक्रीलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना सहित दुवै सजाय हुनसक्छ ।
यसअघि झाँक्रीले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गर्नुभएको थियो ।
उहाँले मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा भण्डारीलाई चुनाव लडाउनु भुल भएको बताउनुभएको थियो ।
झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो ।
ओली समूहको महिला संगठनले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो । झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्