१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आक्रोशित नेताहरू विवेकशून्यः सिंहदरबार घेर्नेदेखि विरेन्द्रको वंशनाशसम्मको अभिव्यक्ति


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएको भन्दै ओली समूहले दाहाल पक्ष विवेकशून्य अवस्थामा पुगेको टिप्पणी गरेको छ ।

बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा दाहालले सर्वोच्च र निर्वाचन आयोगले जनभावना नबुझे दुर्भाग्यपूर्ण हुने बताउनुभएको थियो । विरोधसभाका वक्ताहरूले पशुपतिनाथको प्रसङ्ग झिकेर राजा वीरेन्द्रको वंशनाशसँग जोड्नु पनि निन्दनीय भनिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस चलिरहेको बेला नेकपा दाहाल–नेपाल समूहले निरन्तर सडक प्रदर्शन गर्दै आएको छ । यसै क्रममा यही माघ २८ गते राजधानीमा आयोजित विरोधसभामा अध्यक्ष दाहालले जनभावना विरुद्ध नजान निर्वाचन आयोग र सर्वोच्च अदालतलाई चेतावनी दिनुभयो ।

अध्यक्ष दाहालले निर्वाचन आयोग र सर्वोच्च अदालतले जनताको आक्रोश र पीडालाई नबुझे लाखौं जनता उतारेर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभयो । दाहालको यो आक्रोशलाई ओली समूहका नेताहरूले भने पार्टी कब्जा गर्ने प्रयास असफल भएपछिको आवेग र उत्तेजनाको संज्ञा दिएका छन् ।

विरोधसभामा नेकपाका स्थायी कमिटी सदस्य रजुजी पन्तले तीस वर्षसम्म पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने राजा वीरेन्द्रलाई त पशुपतिनाथले बचाउन नसकेको भन्दै पशुपतिले ओलीको समेत रक्षा नगर्ने बताउनुभयो ।

राजनीतिक विश्लेषक देवेश झा भने विरेन्द्रको वंशनाशलाई पशुपतिनाथसँग जोड्नु निन्दनीय भएको बताउनुहुन्छ । त्यो अभिव्यक्तिले करोडौं हिन्दुहरुको भावनामा चोट पुर्‍याउछ । आक्रोश प्रधानमन्त्रीप्रति छ भने त्यसको रिस पोख्ने ठाउँ पशुपतिनाथ होइन । त्यो सम्मेलनमा आएका माध्य २५ प्रतिशतले पशुपतिनाथको दर्शन गरेर आएका झा बताउनुहुन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतबाट आउने फैसला कस्तो होला अहिले अनुमान गर्न सकिँदैन । नेकपा बिवादमा निर्वाचन आयोगले समेत कुनै निर्णय गरिहालेको छैन । तैपनि दाहाल–नेपाल समूह दिन–प्रतिदिन आक्रामक बन्दै गएको छ । ओली समूह निर्वाचन प्रक्रियामा केन्द्रित बनेपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको विश्लेषण गरिएको छ ।