१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेरो अन्येष्टि माझी बस्ती अगाडिकाे इन्द्रावती बगरमा गरियोस्– श्वेता खड्का


0
Shares

संयोग नेपाल
काठमाडौं । नायिका श्वेता खड्काले माझी बस्ती बिवादको विषयमा स्पस्टीकरण दिनुभएको छ । शुक्रबार लामो फेसबुक स्टाटस लेख्दै उहाँले सिन्धुपाल्चोकको चौताारा साँगाचोकगढी नगरपालिका–१२ मा बनेको माझी बस्ती निर्माणका क्रममा आफूले एक रुपैयाँ पनि रकम हिनामिना नगरेको बताउनुभएको छ ।

नायिका खड्काले विभिन्न सञ्चारमाध्यममा आफूलाई बदनानम गर्ने किसिमका समाचार आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै बस्ती निर्माणका क्रममा एक टुक्रा इट्टासमेत नबोक्नेहरुसँग छानी छानी अन्तर्वार्ता लिएको बताउनुभयो ।

उहाँले आफूले श्वेताश्री फाउन्डेसनमार्फत आएको पैसाले विलासी जीवन नबिताएको स्पस्ट पार्दै उठाएको पैसा गलत प्रयोग भएको प्रमाणित भए जुत्ताको माला सहित कालो मोसो दलेर माझीबस्ती परिक्रमा गर्न तयार रहेको बताउनुभएको छ । आफूविरुद्ध झुटा सामग्री प्रकाशन र प्रशासन गर्नेहरुलाई झुटो सावित गर्ने उल्लेख गर्नुभएको छ ।

दाताहरुसँग सहयोग माग्दा पनि आफूले कहिल्यै पनि आफ्नो खातामा पैसा राख्न जबरजस्ती नगेरको स्मरण गर्दै नायिका खड्काले सधैँ उपभोक्त समितिको खातामा सिधै सहयोगको अपिल गरेको बताउनुभयो । उहाँले खाताको कारोबार केलाएर हेर्न पनि आग्रह गर्दै उपभोक्ता समितिको खातामा करोडौं रकमको कारोबार भएको स्पस्ट पार्नुभयो ।

सिन्धुपाल्चोकमा बनेको माझी बस्ती

अहिले बनेको घर स्थानीयवासीकै रोजाइको डिजाइनमा बनेको बताउँदै उहाँले माझी बस्ती सार्वजनिक निजी साझेदारी परियोजना भएको बताउनुभयो । एनजीओहरुले नै सबै काम गरिदिनुपर्छ भन्ने सोचलाई चिर्नका लागि आफूहरुले जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरेको उहाँको तर्क छ । उहाँले बस्ती निर्माणपछि त्यहाँको अचल सम्पत्तिको मूल्याङ्कन बढेको बताउनुभयो ।

अन्तिममा नायिका खड्काले जिम्मेवारीबाट विमुख नहुने स्पस्ट पार्नुभयो । आफ्नो श्वास चलुञ्जेलसम्म माझी बस्ती आफ्नो मनमस्तिस्कबाट नहट्ने उहाँको भनाइ छ । उहाँले आफ्नो मृत्युपछि आफ्नो शवको चिता पनि माझी बस्तीको आँगनमा रहोके इन्द्रावती बगरमा बनाउँदै अन्येष्टि त्यहिँ गर्न पनि आग्रह गर्नुभएकाे छ । उहाँ लेख्नुहुन्छ, ‘म मर्दा मेरो लाशको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस् ।’

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/259599738864609

नायिका खड्काले माझी बस्ती निर्माण गरेको भनि मिडियामा चर्चा भइरहँदा स्थानीयले भने श्वेता खड्काले माझी बस्ती नबनाएको जिकिर गरेका छन् । ७ लाख रुपैयाँमा बनेको हरेक घरका लागि सरकारले ३ लाख रुपैयाँ दिएको र अहिले आफूहरूको थाप्लोमा ४ लाख रुपैयाँ ऋण रहेको बताएका छन् ।

बस्ती निर्माणको सुरुवाती चरणदेखि लागि परेका स्थानीय सिताराम माझीले श्वेता खड्काले श्वेताश्री फाउन्डेसनले सुरुमा ६० लाख रुपैयाँ दिएको भए पनि अहिले उक्त रकम फिर्ताको चरणमा रहेको बताउनुभयो ।

‘बस्ती निर्माणका लागि उहाँहरु आउनुभयो,’ सितारामले भन्नुभयो, ‘उहाँहरुको इन्जिनियरिङ र डिजाइनमा बस्ती निर्माण भए पनि यहाँका घरहरुमा उहाँको एक पैसा पनि खर्च भएको छैन ।’ फाउन्डेसनले बस्ती निर्माणको अभियान सुरु गरेकोमा माझी समुदायले धन्यवाद दिए पनि सरकार र आफ्नै लगानीमा बस्ती निर्माण भएको उनीहरुको जिकिर छ ।

सिताराम माझी

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा चितवनमा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ९ करोड रुपैयाँको उधारो रहेको समाचार आएपछि स्क्रिनसट राख्दै नायिका खड्काले माझी बस्तीमा सहयोग गर्छु भन्नेहरुले सहयोग नगरेको बताउनुभएको थियो ।

श्वेताको पोस्टपछि माझीबस्तीको प्रसङ्ग झन् तातेको हो । कतिपयले उहाँको पोस्टपछि दोस्रो विवाहमा गरेको खर्च र दैनिक क्लब जाने गरेको भन्दै व्यक्तिगत जीवनमा समेत प्रश्न उठाए । त्यसपछि भने उहाँले माझीबस्ती शुत्रबार मात्र आफ्नो भनाइ राख्नुभएको हो ।

श्वेता श्री फाउन्डेसनको पहलमा माझी बस्तीको निर्माण भए पनि रकम भने उहाँहरूको खर्च नभएको चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले माझी बस्तीका स्थानीयहरू अहिले ४ लाख रुपैयाँ ऋणमा रहेको बताउनुभयो । नगरपालिकाले त्यहाँको संरचना निर्माणमा सहयोग गरिरहेको उहाँको भनाइ छ ।

‘हामीले त्यहाँको सडक, पानी तथा अन्य संरचना निर्माणमा सहयोग गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘बस्ती मात्र भनेर भएन, त्यहाँ सडक, पर्खालहरू पनि व्यवस्थित गर्नुपर्छ, त्यसका लागि हामीले सहयोग गरेका छौं ।’

चौतारा साँगचोकगढी नगरपालिकाकी उप–प्रमुख जानुका पराजुली

उपप्रमुख पराजुलीका अनुसार श्वेताश्री फाउन्डेसनले एकिकृत नमुना बस्तीको इन्जिनियरिङ र डिजाइनिङको काम गरेको बताउँदै सामुदायिक भवन र बालउद्यान बनाउने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

उपप्रमुख पराजुलीले बस्तीको संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारले सहयोग गरेको बताउनुभयो । बस्तीलाई थप व्यवस्थापनका लागि केन्द्र सरकारले १ करोड ३५ लाख र प्रदेश सरकारले १ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

बस्ती निर्माणका लागि भन्दै नायिका श्वेता खड्को नेतृत्वको श्वेताश्री फाउन्डेसनले रकम जुटाउन भन्दै आग्रह गरेको थियो । फाउन्डेसनको आग्रहलाई मानेर देशविदेशमा रहेका हजारौंले फाउन्डेसनलाई सहयोग गरेका थिए । फाउन्डेसनले माझी बस्ती निर्माणका लागि रकम नखर्चिएको र उठाएको पैसा हिनामिना गरेको प्रश्न उठेपछि श्वेताले शुक्रबार स्पस्टिकरण दिनुभएको हो ।