
काठमाडौं । विभागीय टिम एपीएफ पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा होङग्वान्जी न्यू डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले न्यू डाइमण्डलाई २५–२१, २५–२१ र २५–२३ को सेटमा पराजित गर्यो ।
अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । न्यु डाइमण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
शुक्रबार नै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले पुलिसमाथि २६–२४, २५–२२ र २५–१४ को सेटमा पराजित गर्यो । गण्डकीले एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
शुक्रबार नै गण्डकीले एपीएफलाई २५–२१, २९–२७ र २५–१५ ले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।
टाइगर गु्रफ अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्